कृष्णपुर। कृष्णपुर नगरपालिकाको बंक-नायल-बुडर सडकखण्ड अन्तर्गत बंक क्याम्पस चोकदेखि दोमिल्लासम्मको सडक समयमै निर्माण गर्न ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको छ। कृष्णपुर नगरपालिका वडा नम्बर २ का अध्यक्ष अर्जुन सिंह साउद र स्थानीयको दबाबका पछि ठेकेदार कम्पनी सन्तोषी थेगिम जेबी ले फागुन १८ गतेदेखि नै सडक कालोपत्रे गर्न बेस हाल्ने कार्य सुरु गरेको छ।
यस क्रममा भएको संयुक्त छलफलमा निर्माण व्यवसायीले चैत्र २० गतेसम्म सम्पूर्ण बेस मेटेरियल तयार गर्ने र चैत्र २१ गतेदेखि कालोपत्रे कार्य सुचारु गर्ने लिखित प्रतिबद्धता जनाएको छ। सडक निर्माण सम्पन्न नहुँदासम्म खबरदारी तथा सुपरिवेक्षण जारी राख्ने वडा नम्बर २ का अध्यक्ष साउदले बताएका छन्।
स्थानीय अभियानकर्मीहरूले साथै, वडा नं. २ का सम्पूर्ण सेवा प्रवाह अबदेखि आफ्नै वडा कार्यालय बाणीबाट सञ्चालन गरिने जानकारी गराइएको छ। वडाध्यक्ष अर्जुन सिंह साउँदको नेतृत्वमा दबावमूलक आन्दोलन गरिएको थियो। सडक कालोपत्रे नहुँदासम्म वडा कार्यालयका सम्पूर्ण कामकारबाही सडकबाटै सञ्चालन गर्दै आएका वडाध्यक्ष साउँदले निर्माण कार्य समयमै गर्न व्यवसायीसँग लिखित प्रतिबद्धता मागेका थिए। ठेकेदार कम्पनीले पूर्वाधार विकास कार्यालय कञ्चनपुरलाई बिहीबार ठेक्का सम्झौता अनुसारको काम समयमा पूरा गर्ने प्रतिबद्धता जनाएको छ। यसबारे कृष्णपुर नगरपालिका वडा नं. २ को कार्यालयलाई औपचारिक जानकारी गराइएको छ।
यो संघर्षले स्थानीय तहमा विकास निर्माणका कार्यमा जनसहभागिता र खबरदारी आवश्यक रहेको स्पष्ट संकेत गरेको छ। बंक-नायल-बुडर सडकखण्डको कालोपत्रेले स्थानीय बासिन्दाको दैनिक यात्रा सहज बनाउने मात्र होइन, सम्पूर्ण क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा समेत महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।






