दिनेश राना/कैलाली — धनगढी उप-महानगरपालिका वडा नं ७ स्थित ऐतिहासिक जखौर तालमा महाशिवरात्रि विशेष सांस्कृतिक तथा साहित्यिक कार्यक्रम २०८१ आयोजना हुने भएको छ । जखौर बाबा युवा क्लबको आयोजनामा फागुन १४ गते कार्यक्रम हुने क्लबका अध्यक्ष पृथ्वी रानाले जानकारी दिएका छन् ।
“पर्यटन, व्यापार, संस्कृतिको सम्मान — जखौर ताललाई चिनाउने अभियान” नाराका साथ आयोजना हुने कार्यक्रममा स्थानीय संस्कृति, साहित्य, तथा कला झल्काउने विभिन्न प्रस्तुति हुनेछन् ।
कार्यक्रममा स्थानीय निकाय, विद्यालय, व्यापार संघ, र विभिन्न सामाजिक संघसंस्थाको सहभागिता रहने बताइएको छ । जखौर तालको पर्यटन प्रवर्द्धन, सांस्कृतिक पहिचान संरक्षण, र स्थानीय व्यापार प्रवाहलाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको अध्यक्ष रानाले बताए ।
स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति, साहित्यिक वक्तृत्व, र शिव महिमा झल्काउने विभिन्न सांस्कृतिक कार्यक्रमले महाशिवरात्रिको अवसरलाई अझै भव्य बनाउने आयोजकको विश्वास छ ।






