बेल्डाँडी । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा बेलडाँडी-चवन्नीदेखि कालिकीच तालसम्मको सडकलाई फराकिलो बनाउन अतिक्रमण हटाउने कार्य प्रारम्भ गरिएको छ । स्थानीय विकासको नयाँ चरण सुरु गर्दै बेलडाँडी गाउँपालिकाले अनधिकृत संरचना हटाउन सक्रिय भूमिका निर्वाह गरिरहेको छ । पहिलो चरणमा गौडीदेखि चवन्नी बजारसम्म नाली सहित १२ मिटर चौडा सडकको ट्र्याक खोल्ने कार्य भइरहेको छ । यस अभियानले सडक सुधार मात्र होइन, भविष्यका योजनाहरूको मार्गचित्र पनि प्रस्तुत गरिरहेको छ । बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिश्चन्द्र रानाको नेतृत्वमा सुरु गरिएको यस अभियानले सङ्घीय सरकारको सहरी विकास मन्त्रालयबाट विनियोजित १ करोड ३३ लाख रुपैयाँ बजेट र कालिकिच ताल पर्यटन विकासका लागि विनियोजित ९० लाख रुपैयाँको बजेट कार्यान्वयनलाई सहयोग पुर्याउने छ ।
यो सडक सुधार योजनाले बेलडाँडी-चवन्नी बजारलाई पर्यटकीय सम्भावना बोकेको जैविक कालिकिच ताल र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेशद्वारसँग जोड्ने मुख्य मार्गलाई व्यवस्थित बनाउने उद्देश्य राखेको छ । यस योजनाअन्तर्गत गाउँपालिकाले पटक-पटक सूचना प्रकाशन गरी अनधिकृत संरचनाहरू हटाउन आग्रह गरेको थियो । तर आवश्यक कारबाहीको अभावमा अनधिकृत संरचना कायम रहेपछि अन्ततः डोजर प्रयोग गरी हटाउने कार्य सुरु गरिएको हो । गाउँपालिका अध्यक्ष रानाले सडक क्षेत्राधिकारभित्र रहेको आफ्नो घर हटाएर अभियानको शुभारम्भ गर्नु भएको छ । जसले यो सडक योजना सफल पार्न उहाँको प्रतिबद्धतालाई दर्साएको छ । सडक विस्तार अभियानले सुरुवाती चरणमा केही चुनौतीहरू पनि सामना गर्नुपरेको छ । स्थानीय केही बासिन्दाहरूको असहमति र विरोध देखिए तापनि सुरक्षा संयन्त्रलाई मजबुत बनाइ अभियानलाई अघि बढाइएको छ । गाउँ कार्यपालिकाका सदस्यबीच मतभेद देखा परे तापनि दीर्घकालीन विकास र सार्वजनिक हितका लागि यो अत्यन्त आवश्यक कदम रहेको सरोकारवालाहरूको भनाइ छ ।
यस अभियानबाट बेलडाँडी क्षेत्रको समग्र विकास प्रवर्द्धन हुने विश्वास गरिएको छ । व्यवस्थित र फराकिलो सडकले व्यापार, पर्यटन तथा स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउन टेवा पुग्नेछ । कुरा रह्यो, विस्थापित परिवारहरूको । सडक विस्तार अभियानका क्रममा विस्थापित परिवारहरूको उचित व्यवस्थापनका लागि पनि गाउँपालिकाले आवश्यक नीति तथा कार्यक्रम अगाडि बढाउने अध्यक्ष हरिश्चन्द्र रानाले प्रतिबद्धता जनाउनु भएको छ । बेलडाँडी गाउँपालिकाले सुरु गरेको यो योजनाले स्थानीय जनताको जीवनस्तर उकास्ने मात्र नभई भविष्यका लागि एउटा मजबुत पूर्वाधार निर्माण गर्ने दिशामा अग्रसर रहेको छ । यस अभियानले सम्पूर्ण बेलडाँडीवासीलाई आधुनिक र समुन्नत गाउँ निर्माणतर्फ अघि बढ्न प्रेरित गर्ने विश्वास गर्न सकिन्छ ।






