कञ्चनपुर: बेहुला बेपत्ता भएपछि कञ्चनपुरमा विवाह स्थगित भएको छ ।
लालझाडी गाउँपालिका–४ पर्सियाको दीपकराज राना विवाहको चार दिनअघिदेखि बेपत्ता भएपछि विवाह स्थगित गरिएको हो । वैदेशिक रोजगारीबाट फर्किएका रानाको कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिकाकै राना समुदायकी एक युवतीसँग विवाहको लगनगाँठो तय भएको थियो ।
फागुन ४ गते तय गरिएको विवाहको सबै तयारी भइसकेपछि बेहुला बेपत्ता हुँदा बेहुला र बेहुली दुवैका आफन्त अन्योलमा छन् । रमझमको तयारीमा रहेका दुवैतर्फ परिवारमा सन्नाटा छाएकोछ । आपसी सहमतिमा विवाह स्थगित गरेका उनीहरूले दुलहा खोजीका लागि कञ्चनपुर र कैलाली प्रहरीलाई गुहारेका छन् । विवाहको सबै तयारीसहित निम्तोसमेत बाँडेर कैलालीको धनगढीबाट बेहुला सम्पर्कविहीन भएको दुलहाका दाजु लोकराज रानाले बताए ।
सम्पर्कविहीन भाइको मोबाइल त्यही दिनदेखि स्विच अफ रहेको रानाले बताए । उनले भाइको खोजीका लागि कञ्चनपुरको बेलौरी प्रहरी र जिल्ला प्रहरी कार्यालय कैलालीमा आग्रह गरेको जानकारी दिए । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहोराले सम्पर्कविहीन दुलहा खोजीकार्यका लागि मौखिक जानकारी आएको बताए ।