धनगढी । भूमि समस्या समाधान आयोग कैलालीका नवनियुक्त सदस्यले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
समाधान आयोग समन्वय समितिको विज्ञ सदस्यमा नियुक्त कमल सिंह राना र सदस्य दानबहादुर विश्वकर्मा ‘चित्रण’ ले मंगलबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।
उनीहरुलाई भूमि समस्या समाधान आयोग समन्वय समिति कैलालीका अध्यक्ष यज्ञराज उपाध्यायले सपथ ग्रहण गराएका छन् । दुवै जना नेकपा(एमाले) को कोटाबाट भूमि सम्बन्धी विज्ञ सदस्य र सदस्यमा नियुक्त भएका थिए ।
नेपाली कांग्रेस निकट एक जना व्यक्तिलाई नियुक्त गरेपछि भूमि समस्या समाधान आयोग समन्वय समितिले पूर्णता पाउनेछ । सपथ ग्रहण कार्यक्रमको प्रमुख अतिथि पूर्व मन्त्री समेत रहेका नेकपा एमालेका पोलिटब्युरो तथा कैलाली इन्चार्ज नारदमुनी राना रहेका थिए ।
रानाले उपाध्यक्ष नेतृत्वको कार्य समितिको कार्यकालमै कैलालीमा व्याप्त भूमि सम्बन्धी समस्या समाधान हुनेमा विश्वस्त रहेको बताए ।
अध्यक्ष उपाध्यायले समेत कैलालीमा एक लाख ३५ हजार भूमीहिन भएको बताउँदै आफ्नो नेतृत्वको समिति नै भूमि समस्या समाधान आयोगको अन्तिम समिति बनोस् भन्ने चाहाना व्यक्त गरे ।
उनले सबै पक्षको साथ, सहयोग लिएर भूमि सम्बन्धीका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।