धनगढीः धनगढीमा डिउटीमै रहेका प्रहरीमाथि चक्कु प्रहार भएको छ। मंगलवार राति धनगढीको ट्राफिक चौराहमा डिउटीमा रहेका प्रहरीमाथि चक्कु प्रहार गर्ने प्रयास भएको हो।

राति करीब सवा ८ बजेतिर ट्राफिक चौराहमा हरहर महादेव भन्दै हातमा चक्कु लिएर सडकमा हिडिरहेको युवकलाई प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो। डिउटीमा रहेका प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने ती युवकलाई मंगलवार राति नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१४ बस्ने ३६ वर्षीय टेकबहादुर टमटा रहेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। डिउटीमा रहेका प्रहरी भने सकुसल रहेको जनाइएको छ।