काठमाडौंमा वास गर्ने रानाथारु समुदायले नेपाल रानाथारु युवा समाजको आयोजनामा ५औं रानाथारु सूचीकरण दिवस उल्लासपूर्वक मनाएको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार, तत्कालीन कैलाली क्षेत्र नं. ५ का सांसद नारदमुनि राना तथा समग्र समाजको निरन्तर प्रयासका कारण २०७६ साल माघ २० गते राना थारु समुदायलाई आदिवासी जनजातिको सूचीमा ६०औं नम्बरमा सूचीकृत गरिएको थियो ।
यस सूचीकरणपछि राना थारु समुदायले आफ्नो पहिचान त पाएको छ, तर अझै पनि विभिन्न क्षेत्रमा थप काम गर्नुपर्ने आवश्यकता छ । नेपाल रानाथारु युवा समाजले समाजको हकअधिकार सुनिश्चित गर्नका लागि निरन्तर संघर्ष गरिरहने प्रतिबद्धता जनाएको छ ।
नेपालको संविधानले विभिन्न आदिवासी जनजातिलाई अधिकार प्रदान गरेको भए पनि रानाथारु समुदायका लागि अझै स्पष्ट मार्गनिर्देशन हुन आवश्यक रहेको नेपाल रानाथारु युवा समाजका पदाधिकारीहरूले बताएका छन् । प्रदेशस्तरमा केही प्रक्रिया अघि बढे पनि केन्द्र सरकारले ठोस पहल नगरेकोमा समाजका अगुवाहरूले चिन्ता व्यक्त गरेका छन् ।
नेपाल रानाथारु युवा समाजका नवनिर्वाचित अध्यक्ष कमल रानाले सम्पूर्ण राना थारु दाजुभाइ, दिदीबहिनी तथा समाजका सम्पूर्ण सदस्यहरूलाई ५औं सूचीकरण दिवसको हार्दिक शुभकामना व्यक्त गर्दै समाजका हकअधिकार सुनिश्चित गर्नका लागि नेपाल रानाथारु समाज, थारु आयोग तथा थारु कल्याणकारी सभासँग सहकार्य गर्दै अगाडि बढ्नु आवश्यक रहेको बताए । साथै, देशभरका थारु समुदायले सामना गरिरहेका समस्याहरूको समाधानका लागि पहल गर्नुपर्ने आवश्यकता औंल्याए।
धनगढी महानगरपालिका वडा नं. ८ का पूर्व वडाध्यक्ष लालमनि रानाले डिजिटल युगमा रानाथारु समुदाय प्रविधिको दृष्टिले धेरै पछाडि रहेको बताए । उनले प्रतिस्पर्धात्मक विश्वमा अघि बढ्न शिक्षित जनशक्तिको आवश्यकतालाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिए । साथै, शिक्षा क्षेत्रमा सुधार गर्न सरकारलाई केन्द्रस्तरबाट विशेष पहल गर्न आग्रह गरे ।
कार्यक्रममा सहभागी विभिन्न व्यक्तित्वहरूले रानाथारु समुदायको हकहित र विकासका लागि एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका थिए भने नेपाल रानाथारु युवा समाजले आगामी दिनमा समुदायको सांस्कृतिक, परम्परागत तथा सामाजिक उत्थानका लागि निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेको छ ।