दिनेश राना/कैलाली, माघ १९ – नेपाल सरकारले रानाथारु समुदायलाई आदिवासी जनजातिको रूपमा मान्यता दिएको ऐतिहासिक दिनको अवसरमा, काठमाडौंमा विशेष दिप प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ। नेपाल रानाथारु युवा समाजको आयोजनामा माघ २० गते, आइतबार साँझ ४ बजे माइतीघर मण्डलामा यो कार्यक्रम हुने भएको छ।
सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा सदियौंदेखि बसोबास गर्दै आएका रानाथारु समुदायलाई २०७६ साल माघ २० गते ६०औं जातिको रुपमा आधिकारिक पहिचान दिइएको थियो।  यसै ऐतिहासिक दिनको सम्झनामा र समुदायको पहिचानलाई उजागर गर्न यो कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष कमल रानाले बताए।
अध्यक्ष रानाले सम्पूर्ण रानाथारु दाजुभाइ तथा दिदीबहिनीहरूलाई दिप प्रज्वलन कार्यक्रममा सहभागी भई समुदायको एकता र पहिचानको भावनालाई थप बलियो बनाउन अनुरोध गरेका छन्।