ज्ञानु राना/धनगढी: धनगढी उपमहानगरपालिका वडा नं. ७ मनेहरा गाउँको रामभगत टोलमा गए राति परालमा आगलागी हुँदा स्थानीय बासिन्दा त्रसित बनेका छन्। कमल रानाको परालमा राति करिब ९-१० बजेतिर आगो लागेको थियो।
स्थानीय बासिन्दा र ३ वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। आगलागीबाट ठूलो क्षति हुन नपाएपनि कमल रानाको पराल भने पूर्ण रुपमा नष्ट भएको छ।
मनेहरा गाउँमा पछिल्लो समय आगलागीका घटना बढ्न थालेका छन्। स्थानीयका अनुसार २ हप्ताको अन्तरालमा गाउँमा ४ वटा घरमा आगलागी भएको छ। लगातारको आगलागीका घटनाले गाउँमा त्रासको वातावरण सिर्जना गरेको छ।
आगलागीको कारण भने खुल्न सकेको छैन। स्थानीय बासिन्दाले भने आगलागीका घटना दोहोरिन नदिन थप सजगता अपनाउनुपर्ने बताएका छन्।






