विराटनगर – नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश विराटनगरले मुक्तक दिवसको अवसरमा तीन वटा राष्ट्रिय साहित्य पुरस्कारहरूको स्थापना गरेको छ । उक्त पुरस्कार स्थापनाको घोषणा तथा मुक्तक वाचन कार्यक्रम विराटनगरमा आयोजित भएको हो ।

कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष कवि एवम् समालोचक बाबुराम पोखरेलले अक्षय कोषमा जम्मा गरिएको ब्याज रकमबाट प्रत्येक वर्ष पुरस्कार प्रदान गर्ने घोषणा गरे।

यस क्रममा तीन प्रमुख पुरस्कारहरूको स्थापना गरिएको छ: नन्दलाल स्मृति साहित्य पुरस्कार – राशि ११,१११।०० (मनमाया दाहाल र उनका परिवारबाट), माधव-नर्वदा पोखरेल स्मृति साहित्य पुरस्कार – राशि ११,१११।०० (मनोहरि पोखरेल र बाबुराम पोखरेलबाट), नन्दकुमारी पोखरेल स्मृति साहित्य पुरस्कार – राशि १५,०००।०० (साहित्यकार सीताराम पोखरेलबाट)

अक्षयकोष दाताहरूसँगै समाजसेवी विश्वकान्त दाहालले साहित्यको समाजमा महत्त्वपूर्ण भूमिकाबारे मन्तव्य व्यक्त गर्दै पुरस्कारहरूको स्थापना साहित्य क्षेत्रमा अग्रजहरूको सम्मान र नयाँ साहित्यकारहरूलाई प्रेरणा दिने उद्देश्यले गरिएको बताए।

साहित्यकार नानुमैया दाहालले साहित्यको महत्व र यसको समाजमा सशक्त भूमिका रहेको कुरा प्रस्तुत गर्दै पुरस्कारहरूको स्थापना नेपाली समाजको सकारात्मक रूपान्तरण र साहित्यको विकासमा योगदान दिने उद्देश्यले गरिएको बताए।

कार्यक्रममा प्रमुख अतिथि पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेल, विशेष अतिथिहरू प्राज्ञ गङ्गा सुवेदी, प्राज्ञ खेम नेपाली, साहित्यकार बलराम पोखरेल लगायतका प्रतिष्ठित साहित्यकारहरूले पुरस्कारको महत्त्व र संस्थापकहरूको योगदानको सराहना गरे।

विराटनगर र आसपासका क्षेत्रका साहित्यकारहरूको बाक्लो उपस्थितिमा कार्यक्रममा विभिन्न मुक्तककारहरूले आफ्ना मुक्तकहरू वाचन गरेका थिए।

यस कार्यक्रमका क्रममा अक्षयकोषका संस्थापकहरू मनमाया दाहाल, मनोहरि पोखरेल र सीताराम पोखरेललाई सम्मानित गरिएको थियो। यो पुरस्कार स्थापनाले नेपाली साहित्यको विकास र सृजनात्मकतामा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरिएको छ।