दिनेश राना/कैलाली: कैलालीको धनगढी उप-महानगरपालिका वडा नं. ७ स्थित देवरिया सामुदायिक वन उपभोक्ता समूहको २१ औं वार्षिक साधारण सभा तथा १० औं अधिवेशन समुहका अध्यक्ष शारदा प्रसाद रानाको सभाअध्यक्षतामा भव्य रुपमा सम्पन्न भएको छ।
सभामा प्रमुख अतिथिको रुपमा डिभिजन वन कार्यालयका सहायक वन अधिकृत लोकराज दहालको उपस्थिति रहेको थियो। विशिष्ट अतिथि धनगढी–७ का वडा अध्यक्ष मोति रानाथारु, निवर्तमान वडा अध्यक्ष सिताराम राना, सब-डिभिजन वन कार्यालयका सहायक वन अधिकृत कपिल रावल, जनप्रतिनिधि, संघ-संस्थाका प्रतिनिधिहरू, पूर्व अध्यक्षहरू, समाजसेवी, बुद्धिजीवी तथा उपभोक्ता सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको विशेष आकर्षण स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति र नृत्यले सहभागीहरूलाई मन्त्रमुग्ध बनाएको थियो।
कार्यक्रममा समुहका कोषाध्यक्ष भागिराम चौधरीले आर्थिक वर्ष ०८०/०८१ को ३७ लाख ३२ हजार ५६१ रुपैयाँ १४ पैसाको आयव्यय विवरण प्रस्तुत गरेका थिए। आगामी आर्थिक वर्ष ०८१/०८२ को लागि १ करोड ३७ लाख ५६ हजार ४५८ रुपैयाँ बराबरको अनुमानित बजेट लेखा संयोजक पृथ्वी रानाले प्रस्तुत गरेका थिए।
सामुदायिक वनको योगदान र प्रगतिलाई मूल्याङ्कन गर्दै पूर्व अध्यक्ष भजन राना, पुष्प कृषक जोगेन्द्र सेठी, प्रशुराम चौधरी र कलाकार पदमा खड्कालाई विशेष सम्मान गरिएको थियो।
कार्यक्रमको स्वागत मन्तव्य समूहका उपाध्यक्ष जगतराम रानाले व्यक्त गरेका थिए भने सचिव संगिना जागरीले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै कार्यक्रम संचालन गरेकी थिइन्।
नयाँ कार्यसमिति चयनको लागि सहमतिका आधारमा निर्णय गर्न माघ १३ गते बिहान ११ बजेसम्मको समय तोकिएको निर्वाचन संयोजक तथा वडा अध्यक्ष मोति रानाथारुले जानकारी दिए।
कार्यक्रमले देवरिया सामुदायिक वन उपभोक्ता समूहको आगामी योजना र दिगो विकासका लागि नयाँ दिशा तय गर्ने विश्वास गरिएको छ।






