उमेश राना/काठमाडौं, माघ ७, २०८१—रानाथारु समुदायको सामाजिक, सांस्कृतिक, शैक्षिक, आर्थिक तथा राजनीतिक सशक्तिकरणका लागि “नेपाल रानाथारु युवा समाज” को स्थापना भएको छ । यो संस्था आज काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको हो ।
यस संस्थाले रानाथारु समुदायको कला, संस्कृति, भाषा, इतिहास, साहित्य, दर्शन, रीतिरिवाज, चालचलन तथा भलमन्सा प्रथाको संरक्षण र प्रवद्र्धन गर्दै राज्यको मूल प्रवाहमा समुदायलाई समावेश गर्नका लागि विशेष भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
संस्थाको विधानअनुसार यो संस्था पूर्णतः गैरनाफामूलक, गैरराजनीतिक र सामाजिक सेवामूलक हुनेछ । संस्थाका अध्यक्ष कमल रानाले संस्थाको उद्देश्य र कार्यदिशा स्पष्ट पार्दै, “रानाथारु समुदायको बहुआयामिक विकासका लागि राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा आवश्यक समन्वय र सहकार्य गरिनेछ” भन्नुभयो ।
कमल रानाले सबै पदाधिकारी, साक्षी बस्ने साथीहरू तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ र सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै, “यो संस्था कुनै एक व्यक्तिको नभई सम्पूर्ण रानाथारु समुदायको हो,” भनी बधाई दिनुभयो । उहाँका अनुसार, संस्था दर्ता प्रक्रिया पूरा गर्न करिब एक महिना लागेको थियो । सबैले सहकार्य गर्दै आफ्नो साझा लक्ष्यमा केन्द्रित भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको कुरामा उहाँले जोड दिनुभयो । सरकारबाट संस्था सूचीकृत भए तापनि सबै अधिकार प्राप्त गर्न अझै बाँकी रहेको र त्यसका लागि संस्थाले पहल गर्ने प्रतिबद्धता जनाउँदै सामाजिक सेवामा विशेष ध्यान दिने बताउनुभयो । उहाँले सबैको साथ, सहयोग र सल्लाहको अपेक्षा राख्दै आगामी दिनमा एकजुट भएर विभिन्न उपलब्धिमूलक कार्यक्रम गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
संस्थाका महासचिव अनिल रानाले संगठनको विकासका क्रममा अन्तरविरोध र संघर्षलाई सकारात्मक रूपमा लिनु पर्ने तर मनमुटाव, रिस र डाहा भने संस्थाभित्र हुन नहुने धारणा व्यक्त गर्नुभयो । उहाँले पनि संस्थाको दर्ता प्रक्रियामा सबैको भूमिका समान रहेको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले भन्नुभयो, “कहिलेकाहीँ दिमाग अन्तै मोडिए पनि भित्री मनबाट यो संस्था दर्ता गरी रानाथारु समाजको हकहितका लागि अघि बढ्नुपर्छ भन्ने थियो । आज देशको राजधानीमा रानाथारु समुदायको पहिलो संस्था दर्ता हुँदा अत्यन्त खुसी लागेको छ । अब हामीले हाम्रो प्रगति गरेर समाजमा देखाउनुपर्ने समय आएको छ । कैलाली र कञ्चनपुरका बुद्धिजीवी युवावर्गलाई पनि समेटेर अगाडि बढ्नेछौं ।”

संस्थाको पदाधिकारीहरूमा अध्यक्ष कमल राना, उपाध्यक्ष उमेश राना, महासचिव अनिल राना, कोषाध्यक्ष मुहमाया राना, तथा सदस्यहरू अर्जुन राना, रीना राना, विजय राना, बसन्ति राना, र अनिता राना रहेका छन् ।

संस्थाले जनचेतना, सांस्कृतिक संरक्षण, अध्ययन–अनुसन्धान, नीति निर्माणमा पैरवी तथा अन्य विविध गतिविधिहरू सञ्चालन गर्नेछ । साथै, सामाजिक एकता र न्यायसहित समुदायलाई सशक्त बनाउन युवा नेतृत्वद्वारा विभिन्न योजनाहरू अघि बढाइने बताइएको छ । यस संस्थाको केन्द्रीय कार्यालय काठमाडौं–३१ शान्तिनगरमा रहनेछ भने भविष्यमा नेपालभर कार्यक्षेत्र विस्तार गर्ने लक्ष्य रहेको छ ।