ज्ञानु राना/धनगढी: आदर्श युवा क्लबको आयोजनामा धनगढी गाउँमा खुल्ला पुरुष भलिबल प्रतियोगिताको भव्य उद्घाटन भएको छ। उद्घाटन समारोहमा धनगढी उपमहानगरपालिका उपप्रमुख कन्दकला कुमारी राना प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्।
उपप्रमुख रानाले प्रतियोगिताको उद्घाटन गर्दै खेलकुदले युवाहरूलाई स्वस्थ रहन र समाज सेवा गर्न प्रेरित गर्ने बताइन्। उनले भनिन्, “म यो प्रतियोगितालाई सफल बनाउनका लागि मेरो नगरपालिकाबाट सक्दो सहयोग गर्नेछु।”
विशिष्ट अतिथि धनगढी उपमहानगरपालिका वडा नं ८ का वडा अध्यक्ष शिव कुमार राना लगायत नेपाल रानाथारु समाज कैलाली, कञ्चनपुरका केन्द्रीय अध्यक्ष कमल सिंह राना, धनगढी उपमहानगरपालिकाका विभिन्न वडाका अध्यक्ष तथा सदस्यहरू, खेल प्रेमी र खेलाडीहरूको उपस्थिति रहेको थियो।
श्याम लाल रानाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा भलिबल प्रतियोगिता पौष २७ गतेसम्म सञ्चालन हुने जानकारी गराइएको थियो।