उमेश राना/धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शैक्षिक क्षेत्रमा सुधारका लागि थप काम गर्नुपर्नेमा जोड दिएका छन्। धनगढीमा आयोजित नवौं बृहत् राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवको उद्घाटन गर्दै उनले शिक्षामा सबैको पहुँच पुर्याउनका लागि प्रदेश सरकार क्रियाशील रहेको बताए।
मुख्यमन्त्री शाहले पुस्तक प्रदर्शनीलाई केवल व्यावसायिक दृष्टिकोणबाट नहेरी ज्ञान आर्जनको माध्यमका रूपमा लिनुपर्नेमा जोड दिए। उनले पठन संस्कृतिको ह्रासप्रति चिन्ता व्यक्त गर्दै पुस्तकले समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए।
कार्यक्रममा शिक्षाविद डा. हेमराज पन्तले मानिसले पुस्तक पढ्न आवश्यक रहेको बताउँदै पठन संस्कृतिको महत्वमाथि जोड दिए।


यस महोत्सवमा शिक्षा क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको छ। पुस १५ गतेसम्म सञ्चालन हुने यस महोत्सवले शिक्षा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।










