कञ्चनपुरको पुनर्वासमा जङ्गली हात्तीको आक्रमणबाट एक जना बन हेरालु घाइते हुनु भएको छ ।
पुनर्वास नगरपालिका वडा नम्बर १० स्थित मधु सामुदायिक बन क्षेत्रमा हेरालुका रूपमा कार्यरत अन्दाजी ६० वर्षीय परी बिष्ट मंगलबार साँझ जङ्गली हात्तीको आक्रमणमा परी घाइते हुनु भएको हो ।

उहाँको धनगढी स्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको कुण्डा सबडिभिजन बन कार्यालय पच्कडियाका प्रमुख बन अधिकृत दिनेशकुमार यादवले जानकारी दिनुभयो । बनमै हेरालुको काम गरिरहेको बेला एक्कासि हात्तीले आक्रमण गरी घाइते हुनु भएका बिष्टको छातीमा चोट लागेको बताइएको छ ।
अहिले जङ्गली हात्तीको बथान लालझाडी बन क्षेत्रमै रहेकाले लालझाडी र पुनर्वासका नागरिकहरूलाई सचेत रहन कुण्डा सबडिभिजन बन कार्यालयले अनुरोध गरेको छ ।








