लालझाडी / कञ्चनपुरको लालझाडीका १५६ अतिसंकटासन्न परिवारलाई एमरेड कार्यक्रम अन्तर्गत नगद सहयोग प्रदान गरिएको छ । बाढीको जोखिम घटाउन पूर्वानुमानमा आधारित पूर्व कार्य अन्तर्गत मर्सिकोर नेपाल र निड्स नेपालद्वारा सञ्चालित एमरेड कार्यक्रम अन्तर्गत लालझाडी गाउँपालिकाका बाढीको उच्च जोखिममा रहेका १५६ घरधुरीहरूलाई रु. ५ हजारका दरले आइएमइमार्फत नगद प्रदान गरिएको कार्यक्रम संयोजक नवीन चन्द्र भट्टले जानकारी दिनुभयो । लालझाडी गाउँपालिका गाउँ कार्यपालिकाको सहयोग र सहकार्य तथा सामुदायिक विपद् व्यवस्थापन समितिहरूको सहजीकरणमा नगद सहयोग हस्तान्तरण गरिएको संयोजक भट्टले बताउनु भएको छ ।

लालझाडी गाउँपालिका वडा नम्बर १ देखि ४ सम्मका १० वटा समुदायलाई ७ लाख ८० हजार रकम हस्तान्तरण गरिएको परियोजनाका प्राविधिक अधिकृत कौशल भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार बाढी प्रभावित अतिसंकटासन्न घरधुरीहरूलाई बाढीको सामना गर्न आवश्यक तयारीका लागि आइएमइमार्फत शुक्रबार र शनिबार नगद सहयोग हस्तान्तरण गरिएको हो । सहयोग रकम बुझ्दै लाभग्राहीहरूले विपद्को समयमा दैनिक उपभोग्य वस्तुको जोहो गर्न उक्त रकम निक्कै लाभदायक हुने प्रतिक्रिया दिनु भएको छ । उहाँहरूले विपद्को बेला गत विगतका वर्षहरूमा धेरै दुःख पाइएको अनुभव सुनाउँदै अब भने पूर्व तयारीमा सतर्क रहने जनाउनु भएको छ ।