मातृभाषामा ६० भन्दा बढीःरानाथारू भाषामा बालकथा अनुवाद

१२ आश्विन २०८१, शनिबार
मातृभाषामा ६० भन्दा बढीःरानाथारू भाषामा बालकथा अनुवाद

धनगढीः बालबालिकालाई लक्षित गरी एकैपटक विभिन्न मातृभाषामा ६० भन्दा बढी बाल चित्र पुस्तक अनुवाद गरिएको छ । अंग्रेजी भाषामा लेखिएका अंग्रेजी तथा नेपाली बाल चित्रकथालाई नेपाली, नेपाल (नेवारी) र रानाथारु भाषामा अनुवाद गरिएका हुन् । शनिबार द एसिया फान्डेसनको लेट्स रिड नेपालले काठमाडौंस्थित होटल क्राउन इन्पेरियलमा एक ‘ट्रान्सलेसन इभेन्ट’ नामक कार्यक्रम गरी सो अनुवाद गराएको हो ।


बालसाहित्य र बालबालिका क्षेत्रमा काम गर्ने विभिन्न जाति तथा समुदायबाट करिब ६० जना अनुवादक र १० जना सम्पादकको सहकार्यमा अनुवाद गरिएको हो । सम्पादकका रुपमा नेपाली भाषाका लागि यादवचन्द्र निरौला, प्रदीप भट्टराई, डा.धु्रवकुमार घिमिरे, प्रमोद प्रधान, रानाथारु भाषाका लागि इन्द्र चौधरी (अनुवादमा उमेश राना) र नेपाल भाषाका लागि अनिल स्थापित, पुस्कर माथेमा, पवित्र कसा, जीवन कुमार महर्जन र डा. राजन लाल जोशी रहेका थिए ।


कार्यक्रमका अतिथि नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधानले वर्तमान समयमा बालसाहित्यलाई डिजिटलाइज्ड गर्न आवश्यक रहेको बताए । यसका लागि फाउन्डेसनले अग्रणी भूमिका खेलेकोमा बधाई दिए । उनले भने, ‘वर्तमान डिजिटल युगमा बालसाहित्यलाई पनि डिजिटलाइजेसन गर्न आवश्यक छ । यसका लागि एसिया फाउन्डेसनले महत्वपूर्ण भूमिका खेलेको छ । यसका लागि म बधाई दिन चाहन्छु ।’ साथै, उनले नेपाली बालसाहित्यको इतिहास, अवस्था र चुनौतीबारे प्रकाश पार्दै विभिन्न जातजातिका मातृभाषामा बालकथा अनुवाद गर्नु आजको आवश्यकता रहेको बताए ।
त्यसैगरी, कार्यक्रमका अर्का अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव धनप्रसाद सुवेदीले सरकारी तवरबाट बालसाहित्यलाई तुलनात्मक रुपमा ओझेलमा परेको बताए । उनले भने, ‘बालसाहित्य भाषाका दृष्टिकोणले बोलाइ, लेखाइ, पढाइ र सुनाइ जस्ता भाषिक सीपको विकास गर्न मदत गर्छ । तर यस्तो महत्वपूर्ण पक्ष ओझेलमा परेको देखिन्छ । यद्यपि, प्रतिष्ठानले प्रयास गरिरहेको छ ।’ लेट्स रिडले बालसाहित्यलाई डिजिटल रुपमा विकास गरी लाइब्रेरेरी नै बनाएर एकैपटक देशभरीका बालबालिकालाई उत्प्रेरित गरी पठन संस्कृतिको विकास गरेको बताउँदै धन्यवाद व्यक्त गरे ।
कार्यक्रमका अर्का अतिथि राजुलाल जोशीले मातृभाषामा पुस्तक अनुवाद आजको आवश्यकता रहेको बताए । वर्तमान समयमा बालबालिकाहरु मोबाइलमा झुमिरहेको अवस्थामा मोबाइलमै बालपुस्तक पढ्न पाउँदा खुसी हुने बताए । त्यसैगरी स्मार्ट प्यारेन्टिङ नेपालका प्रतिनिधि प्रतिमा तामाङले बालकथाले बालबालिकाको कल्पना, भाषा, सामाजिकीकरण, सिर्जनशीलता, व्यवहारलगायत विभिन्न पक्षको विकास गर्ने बताइन् । उनले भनिन्, ‘बालबालिकाको विभिन्न पक्षको विकासमा अभिभावककै विशेष भूमिका रहने भएकाले अभिभावक स्मार्ट बन्नुपर्छ ।’
अनुवाद कार्यक्रमका संयोजक तथा लेट्स रिड नेपालकी एडमिन तथा प्रमुख समीरा राजभण्डारीले लेट्स रिड नेपालको डिजिटल लाइबे्ररेरीमा ११ हजार भन्दा बढी पुस्तक भएको जानकारी गराइन् । नेपालमा बालसाहित्यलाई सबै बालबालिका र अभिभावकको हातहातमा पुर्याउने र मोबाइलको लत लागेका बालबालिकामा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले विभिन्न मातृभाषामा बालकथा अनुवाद गर्न लागिएको बताइन् । उनले भनिन्, ‘लेट्स रिडले नेपालका विभिन्न जाति तथा समुदायका बालबालिकालाई लक्षित गरी अनुवादको कार्यक्रम गर्दै आएको छ । यसले पठन संस्कृतिसँगै विभिन्न समुदायका संस्कृति, कला, भाषा र पहिचानलाई समेत जोगाउने उद्देश्य लिएको छ ।’
शनिबार र आइतबार हुने भनिएको दुइदिने कार्यक्रममा शनिबार अनुवादको काम सम्पन्न भएको छ भने आज आइतबार सम्पादन भई प्रकाशन गरिने भएको छ ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio