नरेश राना/कञ्चनपुर: कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर ०१ लाई पूर्ण संस्थागत सुरक्षित सुत्केरी वडा र सोही वडामा रहेको बाइसेबिचवा स्वास्थ्य चौकीलाई किशोर किशोरी मैत्री स्वास्थ्य संस्था प्रमाणीकरण/घोषणा गरिएको छ ।

सो वडा भित्र यो आर्थिक वर्षमा कुनै पनि आमा घरमा सुत्केरी नभई स्वास्थ्य संस्थामै सुरक्षित सुत्केरी भएको तथ्याङ्कले पुष्टि गरेसँगै पूर्ण संस्थागत सुरक्षित सुत्केरी वडा प्रमाणीकरण गरिएको लालझाडी गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख खगेन्द्र चौधरीले बताउनु भयो ।

त्यस्तै, किशोर किशोरी मैत्री स्वास्थ्य सेवा सञ्चालन निर्देशिका २०७९ बमोजिम सोही वडामा रहेको बाइसेबिचवा स्वास्थ्य चौकीलाई किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको उहाँको भनाइ छ ।

महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीहरूको अथक प्रयासले स्वास्थ्य क्षेत्रमा सुधार भइरहेको लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाको धारणा छ ।

आगामी दिनहरूमा थप सुधार गर्दै नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्न हर सम्भव प्रयास गर्ने गाउँपालिका अध्यक्ष रानाले प्रतिबद्धता जनाउनु भयो ।