नरेश राना/कञ्चनपुर, २१ जेठ । आफ्नै बेगमा शान्त बगिरहेको छ, दोदा नदी । बगरभर लटरम्मै लहरेबाली फलेका छन् । बीचमा साना–साना छाप्रा पनि भेटिन्छन् । दोदाले बर्खायाममा बर्षेनी बिरुप रुप देखाउँछ । तटीय क्षेत्रका स्थानीयको रातको निद र दिनको चैन उडाउँछ ।

उर्लेर आउने बाढीले कैयौँ बिघा जमिन बगर बनाएर यहाँका स्थानीय विस्थापित हुनुपरेको छ । वर्षेनी तटीय क्षेत्रमा कटान र डुबान हुन्छ । बर्खायाममा दुःख दिने दोदाको बगरमा स्थानीयले गर्मीयाममा भने लहरेबाली लगाएर आम्दानी लिने गरेका छन् । 

“बर्खामा दोदाको बाढीले सास्ती दिन्छ, उर्लेर आउने बाढीले कुन बेला के हुन्छ डराइडराइ बस्नु पर्छ”, कञ्चनपुरको लालझाडी गाउँपालिका–४ डाँडाजाईँका नन्दराम रानाले भने, “अरु समयमा दोदाको बगरमा तरकारी खेती गर्छौ ।”

दोदा नदीको बगरमा तरकारी खेती गर्न थालेको नन्दरामलाई दशक भन्दा बढी भइसक्यो । वि.सं. २०६४ सालमा आएको बाढीले उनको खेतीयोग्य जमिन बगर बनाएको थियो । 

दोदा नदीले विस्थापित भएपछि कञ्चन सामुदायिक वनमा घर बनाएर बसोबास गरिरहेका छन, उनी । बगरमा तरकारी खेती गरेर जीविकोपार्जन गर्ने गरेको उनले बताए ।

“डेढ/दुई बिगाह जमिन दोदाले बगायो, बस्नलाई पनि जमिन नभएपछि विस्थापितहरु अहिले पनि सामुदायिक वनमै घर बनाएर बस्नु परेको छ”, उनले भने, “बगर खेतीमा राम्रै आम्दानी हुने गरेको छ, त्यसैबाट आएको पैसाले घरखर्च चलेको छ ।”

लालझाडीका स्थानीयलाई बर्खामा दोदाको डर हुन्छ । बाँकी समय दोदाकै भरमा अर्थोपार्जन गरेर जीवन धान्ने गर्छन् । डाँडाजाईँकै ४७ वर्षीया मोलसिंह रानाको चार बिगाह जमिन दोदाले बगर बनायो । अहिले त्यहीँ बगरमा खेती गरेर घरखर्च धानिरहेका छन्, राना ।

“सुरुमा घरमै खानलाई थोरै मात्रै खेती गथ्र्यौ, आम्दानी राम्रो हुन थालेपछि व्यवसायीक रुपमा बगर खेती गर्न थाले”, उनले भने, “बर्खामा दोदाले दिने दुःख भुलेर यो सिजनमा बगरमा खेती गरेर घरखर्च धानिएको छ ।”

उनका अनुसार सिजनमा रु. दुई लाखदेखि तीन लाखसम्म आम्दानी हुने गरेको छ । बगरमा तरभुजा, काक्रा, लौका, फर्सीलगायत खेती गरिएको छ । 

माघदेखि बगरमा खेतीका लागि तयारी गर्ने गरिन्छ । चैत अन्तिम साता बाली तयार भएपछि बिक्री गर्ने गरिन्छ । लालझाडी गाउँपालिका–४ खल्लापट्टीकी सिठ्ठो रानाको केही महिनायता दैनिकी फेरिएको छ । 

दोदाको बगरमा बनाइएको छाप्रो उनको बासस्थान बनेको छ । नदीको पाँच कठ्ठा बगर क्षेत्रमा उनले तरकारी खेती गरेका छन् । त्यहीँ बगरको तरकारी कुर्न बगरमा बास बस्नु परेको सिठ्ठो बताउछिन ।

“वर्षौदेखि बगरमा खेती गर्दै आएका छौँ, यहीँबाट घरखर्च चलाउँछौँ”, उनले भनिन, “माघदेखि जेठसम्म बगरमा खेती गर्छौ, अरु समयमा मजदुरी ।”

खेतीमा परिवारका सम्पूर्ण सदस्य नै जुट्ने गरेका छन् । श्रीमान् मीनबहादुर दिनभर तरभुजालगायत उत्पादन ट्रयाक्टरमा लगेर गाउँ–गाउँमा बिक्री गर्ने गर्छन् ।

२८ सदस्यीय रानाको संयुक्त परिवारको खर्च बगर खेतीबाटै चलेको छ । “जंगली जनावरबाट खेती जोगाउन हम्मेहम्मे छ, चोरी पनि हुने गरेको छ”, उनले भनिन, “जंगली जनावर र चोरीबाट उत्पादन जोगाउन छाप्रोमै बास बस्ने गरेका छौँ ।”

उनका अनुसार दिनमा आफू र राति श्रीमान् मीनबहादुरले खेतीको हेरालु बस्ने  गरेका छन् । बगरमा उत्पादित तरकारीबाट वार्षीक रु. ६० हजार भन्दा आम्दानी गर्ने गरेको सिठ्ठो सुनाउछिन ।

लालझाडी गाउँपालिका–४ डाँडापट्टीकी डुठ्ठो रानाको पनि दैनिकी यस्तै छ । उनका श्रीमान् शारदा रोजगारीको शिलशिलामा भारतको सिम्लामा छन् । छोरीसहित डुठ्ठो भने बगर खेतीमा व्यस्त छिन ।

तरकारी किन्न ग्राहकहरु बगरमै पनि आउने गरेका छन् । बगरमा व्यवसायीक तरकारी खेती गर्ने नदी तटीय क्षेत्रका स्थानीय किसान खेती जोगाउन बगरमै बास बसेका छन् । 

दोदा नदीमा करिब पाँच सय भन्दा बढी परिवारले बगर खेती गरेका छन् । “दोदा नदीको किरानमा बस्ने हामीले धेरै डर छ, बर्खामा बाढी आउँदा कोही नदी तर्न सक्दैन”, लामो समयदेखि दोदाको बगरमा खेती गरिरहेका डाँगाजाईँका किसान दानसिंह गिरीले भने, “बर्खामा निकै दुःख दिने दोदाले फाइदा पनि गरेको छ ।”