शुक्रराज राना/बेलौरी, २० जेठ ।
कञ्चनपुरको बेलौरी नगरपालिका– १० स्थित दिपघाटमा लागु औषधसहित ३ जना पक्रा परेका छन् । धनगढी उपमहानगरपालिका–११ बेलाका २५ बर्षीय पदमबहादुर बोहरा, ३२ बर्षीय कृष्णा राना र वडा नम्बर ६ बिजसलियाका ४६ बर्षिय भानु चौधरी रहेका छन् ।
इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडाबाट खटिईएको संयुक्त प्रहरी टोलीले शुक्रबार पक्राउ गरि तिनै जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
लागुऔषधको दुर्व्यसन तथा अवैध ओसार–पासार नियन्त्रण्का लागि प्रहरीले जति प्रयास गरेपनि समस्या उस्तै देखिन्छ । समय समयमा प्रहरीले लागुऔषध दुर्व्यसन नियन्त्रणका लागि बिद्यालय स्तरमा कार्यक्रमहरु पनि सञ्चालन गरिएको पनि देखिन्छ, तर प्रहरीको त्यो मिसन तथा प्रयास बिफल हुनुको कारण के त ?
यस्तै गरि जेठ ८ गते कञ्चनपुरकै पुनर्वास नगरपालिका वडा नम्बर ११ डोके बजारका ४६ बर्षिय ऋषिराम कँडेललाई अवैध लागु औषध खैरो हिराईन सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय र प्रहरी चौकी परासनबाट खटिइएको प्रहरीले उनलाई पक्राउ गरेको थियो भने जेठ १४ गते बेलौरी नगरपालिका वडा नम्बर १० स्थित कानीखल्लाबाट अबैध लागुऔषध सहित दुई जना बेदकोट नगरपालिका वडा नम्बर ४ का १९ बर्षिय रोशन चौधरी र बेलडाँडी गाउँपालिका १ बस्ने २१ बर्षिय अर्जुन चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो ।
यसरी प्रहरीको अथक प्रयास र कडाईका बावजुद पनि दिन दिनै लागुऔषधको दुर्व्यसन तथा अवैध ओसार–पासार बढ्नु भनेको कुनै स्थान, मुलुक वा क्षेत्र बिशेषको मात्र समस्या नभई विश्व मानव समुदाइकै सामुहिक समस्याका रुपमा प्रकट हुदै आएको छ । प्रहरीले लागुऔषध प्रयोगकर्ताहरुलाई पक्राउ गरेर मात्र यो समस्या समाधान हुने असम्भव नै जस्तो देखिन्छ । लागुऔषधको दुर्व्यसन तथा अवैध ओसार–पासार नियन्त्रणका लागि प्रहरीले प्रयोगकर्ता देखि लिएर ओसार– पासार कर्ता र उत्पादन कर्तालाई समेत नियन्त्रणमा लिनु पर्ने देखिन्छ । अझ प्रहरीले मात्र नभई समुदायका हरेक अभिभावक, हरेक व्यक्ति सचेत हुनुपर्ने आवश्यक देखिन्छ ।






