नरेश राना/कञ्चनपुर, १५ बैशाख । कञ्चनपुरको लालझाडी गाउँपालिकामा सुर्तिजन्य पदार्थ र मादक पदार्थ सेवनको न्युनीकरणका लागि सञ्चार एवम् कोभिड-१९ लगायतका महामारीजन्य रोगहरुको रोकथाम र न्यूनीकरणका लागि सरोकारवालाहरूसँग अन्तरक्रिया गरिएको छ । लालझाडी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा शुक्रबार गाउँपालिकाकै सभाहलमा गरिएको अन्तरक्रिया कार्यक्रममा सुर्तिजन्य पदार्थ र मादक पदार्थ सेवनको न्युनीकरणका लागि सञ्चार एवम् कोभिड-१९ लगायतका महामारीजन्य रोगहरुको रोकथामका लागि नियन्त्रण तथा निराकरणका सन्दर्भमा सरोकारवाला निकायका प्रतिनिधिहरूसँग अन्तरक्रिया गरिएको हो ।

सुर्तिजन्य पदार्थ र मादक पदार्थ सेवनले समाजमा विकृति बढ्दै गएको र यसले मानव स्वास्थ्यमा समेत नराम्रो असर पारिरहेको हुँदा यसको न्युनीकरणका लागि सरोकारवालाहरूसँग अन्तरक्रिया गरिएको कार्यक्रमका प्रशिक्षक एवं लालझाडी गाउँपालिका स्वास्थ्य शाखाका संयोजक खगेन्द्र चौधरीले बताउनुभयो । पछिल्लो समयमा कोभिड-१९ लगायतको प्रकोप समेत बढ्दै गएकोले महामारी नियन्त्रणका लागि पनि सबै पक्षको भूमिका अपरिहार्य रहेको उहाँको भनाइ छ । लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाको अध्यक्षतामा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा लालझाडीका सबै वडाका वडाध्यक्षहरू, गाउँपालिकामा कार्यरत सम्बन्धित कर्मचारीहरू, स्वास्थ्यकर्मीहरू, सञ्चारकर्मीहरू लगायतको सहभागिता रहेको थियो ।






