प्रकृतिको काखमा बितेको एक अविस्मरणीय दिन
लेखक नन्दलाल राना (संपादक)
यात्रा मिति : वि.सं. २०८३ साल कात्तिक १० गते
यात्रा मार्ग : धनगढी–अत्तरिया–पूर्व घोडीघोडा–स्याउले–हटखोली–चेप्टे ढुङ्गा–गाँजरी झरना
यात्राको साधन : मोटरसाइकल तथा पैदल
कहिलेकाहीँ जीवनमा यस्ता यात्रा आउँछन्, जसको दूरी नाप्न किलोमिटर मात्र पर्याप्त हुँदैन। त्यहाँ पुगेपछि बाटोभन्दा बढी सम्झनाहरू बाँकी रहन्छन्, थकानभन्दा बढी आनन्द भेटिन्छ र फर्किएपछि पनि मन फेरि त्यही ठाउँतिर पुगिरहन्छ। वि.सं. २०८३ साल कात्तिक १० गतेको धनगढीदेखि गाँजरी झरनासम्मको यात्रा मेरा लागि त्यस्तै एउटा अविस्मरणीय यात्रा बन्यो।
यात्राको तयारी अघिल्लो दिनदेखि नै सुरु भएको थियो। गंगाराम सरसँग मिलेर हामीले यात्राका लागि आवश्यक सामग्री जुटाउन थाल्यौँ। साँझ सोमरस, तरकारीलगायत आवश्यक सामान किनियो। बाँकी रहेको पनिर भने बिहान लिने योजना बन्यो। बिहान ८ बजे स्याउलेमा भेट्ने सहमति गरेर हामी आ–आफ्नो घरतिर लाग्यौँ।
बिहानैदेखि सुरु भएको उत्साह

भोलिपल्ट बिहानै दीपक सर र म घरबाट निस्कियौँ। बाटोमा चिया खाने र पनिर लिएर जाने योजना थियो। दीपक सरले तरामी सरलाई फोन गरेर हामी पनिर लिएर आउने र उहाँ तिलक सरसँग पिपलचौतारातिर जाँदै गर्न आग्रह गर्नुभयो।
हामी धनगढीकाे जनआवाज नजिकको डेरीबाट पनिर लिएर अगाडि बढ्यौँ। पिपलचौतारामा पुग्दा गंगाराम सर, नारायण भण्डारी सर, तिलक सर, पाल सर र तरामी सर हामीलाई पर्खेर बसिरहनुभएको रहेछ। हामी पुगेपछि सबै जना एकसाथ यात्रामा निस्कियौँ।
करिब १५ मिनेटमै स्याउले पुग्यौँ। तर पूर्वबाट आउने टोली अझै आइपुगेको थिएन। अत्तरियाबाट आउने साथीहरू पनि केही ढिला भएकाले गंगाराम सरले हामीलाई अगाडि हिँड्न भन्नुभयो र आफू सबै साथीहरूलाई लिएर पछि आउने बताउनुभयो।
हामी अगाडि बढ्यौँ।
करिब आधा घण्टापछि हटखोली पुग्दा कर्णबहादुर सरले हाम्रो स्वागतका लागि कुर्सीसमेत मिलाएर तयारी अवस्थामा बसिरहनुभएको रहेछ। उहाँकी श्रीमतीले मायापूर्वक लेमन टी बनाएर ल्याउनुभयो। यात्राको सुरुवाती थकानभन्दा साथीहरूको भेट र हाँसो–मजाकले वातावरण अझ रमाइलो बनाइदियो।
केही बेरपछि शर्मा सर र राजबहादुर ऐर सर पनि आइपुग्नुभयो। चिया, पानी र गफसँगै बाँकी साथीहरूको प्रतीक्षा गरिरह्यौँ। करिब आधा घण्टापछि हाम्रो बाँकी टोली पनि आइपुग्यो। सबैले हात मिलायौँ, एक–अर्कालाई स्वागत गर्यौँ र फेरि चिया पियौँ।
शर्मा सर र काशीनाथ सरको प्रस्ताव भने अझ रमाइलो थियो—“यतै बसौँ, घाम तापौँ, यतै रमाइलो गरौँ, माथि जानै किन प¥यो र?”
तर हामी जुन ठाउँका लागि घरबाट निस्किएका थियौँ, त्यही ठाउँसम्म नपुगी फर्किन कसरी सक्थ्यौँ र!
अन्ततः बिहान १० बजेर ८ मिनेटमा हाम्रो टोली हटखोलीबाट गाँजरी झरनातर्फ अघि बढ्यो।
सडक सकिएपछि सुरु भयो वास्तविक यात्रा

धनगढी, अत्तरिया र स्याउलेसम्मको बाटो कालोपत्रे थियो। स्याउलेदेखि उत्तरतर्फ करिब ४ किलोमिटर ग्राभेल बाटो पार गरेपछि हटखोलीबाट अगाडिको यात्रा कच्ची बाटोमा परिणत भयो।
करिब ५ किलोमिटर मोटरसाइकलमा गएपछि अगाडिको बाटो बन्द रहेछ। बाटो निर्माण तथा मर्मतका कारण मोटरसाइकल अगाडि लैजान सम्भव भएन। त्यसैले बाटोको मोडमा रहेको खाली ठाउँमा मोटरसाइकल राखेर बाँकी यात्रा पैदलै गर्ने निर्णय गर्यौँ।
त्यसपछि सुरु भयो यात्राको अर्को अध्याय।
करिब डेढ किलोमिटर पैदल हिँडेर हामी चेप्टे ढुङ्गातर्फ लाग्यौँ। बाटो आफैँमा एउटा रोमाञ्च थियो। एकातिर विशाल चट्टानी पहाड आकाशतिर उठेको थियो भने अर्कोतिर धेरै तल नदी बगिरहेको थियो। नदीपारि चुरे गाउँपालिकाको भूभाग देखिन्थ्यो।
कुनै ठाउँमा पहाड यति ठाडो देखिन्थ्यो, मानौँ विशाल हात्तीझैँ चट्टानहरू आकाशमा अडिएका छन्। बाटो निर्माणका लागि चट्टान फुटाउँदै गरेका मेसिनको आवाज पहाडभरि गुञ्जिरहेको थियो। तल गहिराइमा बगिरहेको नदीको कलकल आवाज र माथिबाट सुनिने चराचुरुङ्गीको मधुर ध्वनिले यात्रालाई झन् रोमाञ्चक बनाइरहेको थियो।
कहिले कोही अगाडि, कहिले कोही पछाडि। कसैले एउटा कुरा निकाल्थ्यो, अर्कोले त्यसमा थपेर हाँसोको फोहोरा छुटाउँथ्यो। बाटोको थकान पनि साथीहरूको रमाइलो कुराकानीले बिर्साइरहेको थियो।
तरामी सरले त हाँस्दै भन्नुभयो—“यति टाढा भएको थाहा पाएको भए म त आउने नै थिइनँ, यार!”
हामी सबै हाँस्यौँ।
चेप्टे ढुङ्गामा विश्राम र स्वादिलो क्षण
करिब ११ बजेतिर हामी चेप्टे ढुङ्गा पुग्यौँ। पैदल हिँडेर थाकेका साथीहरू कोही ढुङ्गामा पल्टिए, कोही पसलभित्र पसे। त्यहाँ पुग्दा सबैलाई भोकले राम्रै सताइसकेको थियो।

पसलका साहुजीलाई तरकारी बनाउन भन्यौँ। केही बेरपछि सबै जना टेबुल वरिपरि जम्मा भयौँ। दीपक सरले हामीले घरबाट लिएर गएको सोमरस निकाल्नुभयो भने नारायण भण्डारी सरले चिसो स्प्राइट ल्याउनुभयो। वातावरण फेरि रमाइलो बन्यो।
म भने आफ्नो खाना आफैँ बनाउने भएकाले छुट्टै भान्साको तयारीमा लागेँ। दीपक सरले भाँडाकुँडाको व्यवस्था गरिदिनुभयो र आगो बाल्न थाल्नुभयो। मैले घरबाट ल्याएको पनिर, सिमला खुर्सानी, लसुन, प्याज र मसला तयार गर्न थालेँ।
करिब १० मिनेटमै मेरो पनिरको तरकारी तयार भयो।
उता साथीहरूको टोलीले सोमरसको आधाभन्दा बढी भाग सिध्याइसकेको रहेछ। म आफ्नो तरकारीको भाँडो बोकेर साथीहरू बसेको ठाउँमा पुगेँ। चिउरा र चिसोसँगै सबै जना खान बस्यौँ।
मैले “पनिरको तरकारी खान मन हुनेले भन्नुस है” मात्र के भनेको थिएँ, तिलक सरले “म पनि खान्छु” भन्नुभयो। कर्ण सरले पनि स्वाद परीक्षणका लागि माग्नुभयो।
खाना, गफ, हाँसो र यात्राका कथा—त्यो सानो विश्रामस्थलमा हामीले थकान मात्र बिर्सेनौँ, मित्रताको मिठास पनि अनुभव गर्यौँ।
अब झरनातर्फको असली यात्रा

नास्ता खाइसकेपछि शरीरमा केही ऊर्जा फर्किएको महसुस भयो। अब हाम्रो लक्ष्य स्पष्ट थियो—गाँजरी झरना।
“जहाँसम्म पुग्न सकिन्छ, त्यहाँसम्म जाऔँ; नसके त्यहीँबाट फर्किऔँला,” भन्ने भावनाका साथ हामी अगाडि बढ्यौँ।
शर्मा सर सबैभन्दा अगाडि हिँडिसक्नुभएको थियो। उहाँको पछि नारायण सर र त्यसपछि हामी सबै।
चेप्टे ढुङ्गाबाट नदीको किनार हुँदै गोरेटो बाटो उकालो लाग्नुपर्थ्यो। बाटो सजिलो थिएन। कतै चिप्लो, कतै साँघुरो, कतै ढुङ्गैढुङ्गा। पसिना बग्दै थियो। शरीर थाक्दै थियो। तर मन भने झन् उत्साहित हुँदै थियो।
बाटोमा काशीनाथ सरले सोध्नुभयो—“यो गोरेटो बाटोमा पनि हाम्रो पैसा लागेको होला नि?”
कर्ण सरले जानकारी दिनुभयो—“यो बाटो बनाउन गोदावरी नगरपालिकाका नगर प्रमुख हरी सिंह सांवदले आर्थिक वर्ष २०७५/७६ मा १० लाख रुपैयाँ विनियोजन गर्नुभएको थियो।”
त्यसपछि बाटो र विकासबारे कुराकानी चल्यो। राजबहादुर सरले अहिले बाटोमा पर्याप्त बजेट नपरेको गुनासो गर्नुभयो।
हामी भने सुनसान पहाडी बाटोमा आफ्नै संसारमा हिँडिरहेका थियौँ।
तल नदीको आवाज, वरिपरि घना जंगल, माथि चट्टानी पहाड र बीचमा हाम्रो सानो यात्रा टोली। कतै चराहरू कराउँथे, कतै पातहरू हल्लिन्थे। बाटोमा जमेको लेउले चट्टानहरूलाई हरियो बनाएको थियो।
कसैको आवाज अगाडिबाट आउँथ्यो—
“ए, यता आउनुस्!”
पछाडिबाट अर्को आवाज आउँथ्यो—
“सबै आइरहेका छन् नि!”
यात्रा साँच्चिकै यात्रा जस्तो भइरहेको थियो।
झरनाको पहिलो झल्को

अन्ततः हामी तालको छेउतिर पुग्यौँ। झरनासम्म पुग्ने बाटोबारे जानकारी लियौँ।
अझै करिब ५० मिटर तल झर्नुपर्ने रहेछ।
त्यो ठाउँमा पुग्दा भने मनमा अलिकति डर पनि पलायो। माथिबाट पानी बगिरहेकाले बाटो निकै चिप्लो थियो। तलतिर गहिरो ताल देखिन्थ्यो। एउटा गलत पाइला चाल्दा जोखिम हुन सक्ने अवस्था थियो।
केही साथीहरू “तल झरौँ” भन्दै थिए भने केही “बाटो निकै चिप्लो छ, यतैबाट फर्किऔँ” भन्दै थिए।
तर झरना आँखैअगाडि आएपछि त्यति सजिलै कसरी फर्किन सकिन्थ्यो र!
हामीले एक–अर्काको हात समात्यौँ। कतै रूखका हाँगा समात्दै, कतै सावधानीपूर्वक पाइला चाल्दै, बिस्तारै तल झर्न थाल्यौँ।
अन्ततः त्यो क्षण आयो—
हामी गाँजरी झरनाको फेदमा पुग्यौँ।
प्रकृतिको अद्भुत संगीत
झरनाको दृश्यले हाम्रो सम्पूर्ण थकान एकैछिनमा हराइदियो।
चट्टानी पहाडको काखबाट पानी तलतिर झरिरहेको थियो। झरना करिब ५० मिटर तल खस्ने रहेछ। त्यसको फेदमा बनेको ताल नीलो आकाशको छायाजस्तै शान्त र आकर्षक देखिन्थ्यो।
झरनाको आवाज माथिसम्मै गुञ्जिरहेको थियो। त्यो आवाज कुनै प्राकृतिक संगीतभन्दा कम थिएन। वरिपरि घना जंगल, चट्टानी पहाड, साना–साना अरू झरना र तल देखिने ठूला–साना तालहरूले गाँजरीलाई प्रकृतिले आफैँ सजाएको चित्रजस्तो बनाइदिएका थिए।
झरनाको पानी पहाडको माथिल्लो भागमा रहेको चट्टानबाट फुटेको मूलबाट आउने रहेछ। माथि अझै अर्को सानो झरना पनि रहेछ। वर्षायाममा पानीको मात्रा निकै बढ्ने भएकाले त्यतिबेला यहाँ पुग्न झन् कठिन हुने रहेछ। बाह्रै महिना पानी बग्ने भए पनि वर्षायाममा भने मुसलधारे पानीका कारण यात्रा जोखिमपूर्ण हुने कुरा थाहा भयो।
पानी यति सफा देखिन्थ्यो कि कर्ण सरले विगतमा परीक्षण गराउँदा तराईका बोरिङ तथा धाराको पानीभन्दा पनि राम्रो भएको कुरा सुनाउनुभयो।
त्यो सुन्दा झरनाको पानीप्रतिको सम्मान झन् बढ्यो।
चिसो पानी, न्यानो मित्रता

तालको सुन्दरता देखेपछि सबैको मनमा एउटै इच्छा जाग्यो—नुहाउने!
ताल करिब १० देखि १५ फिट गहिरो रहेको बताइयो। तलतिर ठूला–ठूला ढुङ्गाहरू थिए। चिसो पानीले शरीर नै सिरिङ्ग बनाउँथ्यो। चिसो भएपछि माथिको डाँडामा गएर घाम ताप्ने, फेरि तल झर्ने—हाम्रो रमाइलो आफ्नै किसिमको थियो।
स्थानीयहरूका अनुसार बिहान करिब २ बजेसम्म यहाँ घाम लाग्छ, त्यसपछि पहाडले घाम छेक्छ।
हामीले तलको पसलबाट ल्याएको मट्ठा र नमकिन खायौँ। त्यसपछि साथीहरू तालमा पौडी खेल्न थाले।
कर्ण सर, म, मगर सर र तिलक सर भने झरना खस्ने मूलतिर पुग्यौँ। माथिबाट झरेको चिसो पानी शरीरमा पर्दा प्राकृतिक उपचारजस्तै अनुभूति हुन्थ्यो। झरनाको पानीले शरीरलाई स्पर्श गर्दा यात्राको थकान बिस्तारै हराउँदै गयो।
कोही पानीमा रमाइरहेका थिए, कोही घाम तापिरहेका थिए, कोही फोटो खिचिरहेका थिए। हाँसोले जंगलको शान्त वातावरणलाई पनि जीवन्त बनाइरहेको थियो।
सिंगल फोटो, ग्रुप फोटो—क्यामेरामा त्यो दिनका अनेकौँ सम्झनाहरू कैद भए।
तर प्रकृतिको काखमा बितेको त्यो समय क्यामेराले मात्र कहाँ कैद गर्न सक्थ्यो र?
फर्कने बेला झन् कठिन
अब फर्कनुपर्ने समय भयो।
झरनासम्म पुग्दा जति रमाइलो लागेको थियो, तल फर्केर आउँदा बाटो अझ अप्ठ्यारो महसुस भयो। हातमा लट्ठी समात्दै, चट्टान समाउँदै र एक–अर्कालाई सहयोग गर्दै हामी बिस्तारै तल झर्दैगर्र।
दिउँसो करिब ३ बजेतिर हामी चेप्टे ढुङ्गाको खाना खाने ठाउँमा आइपुग्यौँ। सबै जना भोकाएका थिए। स्थानीय कुखुराको तरकारी, भात र चिसो स्प्राइटसँगै साथीहरू फेरि भोजनमा जुटे।
म भने बिहानै खाएको पनिरको तरकारीका कारण त्यति भोक लागेको थिएन, त्यसैले खाना खाइनँ।
खाना खाइसकेपछि बिल तिर्ने पालो आयो। गंगाराम सर, कर्ण सर, भण्डारी सर, पाल सरलगायत साथीहरूले खर्च मिलाउनुभयो। फर्किनुअघि साहुजीलाई बोलाएर सम्झनाका लागि एउटा सामूहिक फोटो पनि खिचायौँ।
साँझसँगै घरतर्फ
साँझ ४ बजेर ३० मिनेटमा हामी चेप्टे ढुङ्गाबाट घरतर्फ फर्कियौँ।
पहाडबाट तल झर्दै गर्दा बिहानभन्दा बाटो फरक अनुभूति भइरहेको थियो। दिनभरको थकान थियो, तर मनमा झरनाको दृश्य ताजा थियो।
करिब आधा घण्टामै मोटरसाइकल राखेको ठाउँमा पुग्यौँ। सबैले मोटरसाइकल समात्यौँ र फेरि बाटो समात्यौँ।
चेप्टे ढुङ्गालाई मनमनै भन्यौँ—
“बाइबाइ चेप्टे ढुङ्गा, फेरि भेटौँला!”
कच्ची बाटो धुलाम्मे थियो। मोटरसाइकल विस्तारै चलाउँदै हामी हटखोलीतर्फ झर्यौँ।
हटखोलीमा पुग्दा कर्ण सरको जग्गामा झोलुङ्गे पुल निर्माण भइरहेको देख्यौँ। केही बेर त्यसतर्फ नजर लगाउँदै फेरि अगाडि बढ्यौँ।
अन्ततः कर्ण सरको घर पुग्यौँ। बिहानजस्तै उहाँकी श्रीमतीले कुर्सी मिलाएर राख्नुभएको थियो। सबै जना बस्यौँ। उहाँले सबैलाई पानी खुवाउनुभयो।
पानीको एक–एक घुट्कोसँगै दिनभरको थकान केही कम भयो।
त्यतिबेला साँझको ५ः३० बजिसकेको थियो।
टाढाबाट आएका साथीहरूलाई रात पर्नुअघि घर पुग्नुपर्ने थियो। त्यसैले कर्ण सर र उहाँकी श्रीमतीसँग आत्मीयतापूर्वक बिदा भयौँ।
स्याउलेसम्म कोही अगाडि, कोही पछाडि हुँदै यात्रा जारी रह्यो। त्यहाँ पुगेपछि अत्तरियाका साथीहरू पश्चिमतर्फ लागे, पूर्वबाट आएका साथीहरू पूर्वतर्फ लागे र हामी धनगढीका साथीहरू दक्षिणतर्फ लाग्यौँ।
केही बेरमै हामी आ–आफ्नो बाटो लाग्यौँ।

अन्तिम सम्झना
त्यो दिन हामीले केवल धनगढीदेखि गाँजरी झरनासम्मको दूरी मात्र पार गरेका थिएनौँ।
हामीले सँगै हिँड्ने साथीहरूको आत्मीयता महसुस गर्यौँ।
पहाडको विशालता देख्यौँ।
नदीको कलकल सुनेर मन शान्त बनायौँ।
जंगलका चराहरूको आवाजमा प्रकृतिको संगीत सुन्यौँ।
चट्टानको कठिन बाटोमा एक–अर्काको हात समात्यौँ।
झरनाको चिसो पानीमा थकान बिर्सियौँ।
तालको निलो गहिराइमा प्रकृतिको सुन्दरता नियाल्यौँ।
र सबैभन्दा महत्वपूर्ण कुरा—एक दिनलाई जीवनभर सम्झन मिल्ने बनायौँ।
गाँजरी झरना केवल पानी पहाडबाट खस्ने एउटा ठाउँ मात्र रहेनछ। त्यो त चट्टान, जंगल, नदी, ताल, झरना, चराचुरुङ्गी र मानवीय मित्रताको सुन्दर संगम रहेछ।
आज पनि त्यो यात्रालाई सम्झँदा आँखाअगाडि उही चट्टानी पहाड आउँछ, कानमा उही नदीको आवाज सुनिन्छ र मनले फेरि त्यही गोरेटो बाटो समातेर गाँजरी झरनातर्फ दौडिन खोज्छ।
सायद यात्राको सबैभन्दा ठूलो उपलब्धि यही हो—
बाटो सकिन्छ, यात्रा सकिन्छ, हामी घर फर्किन्छौँ; तर एउटा सुन्दर यात्राले मनभित्र बनाएको बाटो कहिल्यै सकिँदैन।
गाँजरी झरनाको त्यो यात्रा पनि मेरो स्मृतिमा त्यही कहिल्यै नसकिने बाटो बनेर बसेको छ।
— यात्रा समाप्त, तर सम्झना अझै जारी छ।
हाम्राे टिमका यात्री : तिलक सिंह,नरायण भण्डाडी,गंगाराम ओझा,नन्दलाल राना,दिपक राजजोशी,अमर सिंह तरामी मगर, काँशी नाथ, नरेन्द्रा शर्मा, खेम भण्डारी , कर्ण वहादुर साँवद, राज बहादुर ऐर, खेम कठाएत, पदम साही, नर बहादुर चौधरी, सुन्द्र पाल, बोगटी







