भारतको मध्य प्रदेशस्थित विदिशा जिल्लामा ११ केभी (११ हजार भोल्ट) उच्च क्षमताको विद्युतीय प्रसारण लाइनको करेन्ट लागेर ६५ वर्षीय एक वृद्धको ज्यान गएको छ ।
गन्ज बासोदास्थित गायत्री नगरमा शुक्रबार भाडाको घरको तेस्रो तलाको बार्दलीबाट गुट्खा थुक्ने क्रममा स्थानीय ६५ वर्षीय प्रभु लाल गुप्ता अचानक उच्च भोल्टेजको तारको सम्पर्कमा पुगेका थिए । करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको भारतीय पत्रिका दैनिक जागरणले लेखेको छ ।
घटनाको जानकारी पाएलगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । मूल घर छतरपुर भएका गुप्ता विगत १० वर्षदेखि गन्ज बासोदामा भाडामा बस्दै आएका थिए र उनी पेसाले मेकानिक थिए ।
विद्युत् प्राधिकरणप्रति स्थानीयको आक्रोश
यस अप्रत्याशित घटनापछि स्थानीय बासिन्दाहरू विद्युत् विभागको लापरबाहीविरुद्ध आक्रोशित बनेका छन् । आवासीय घरहरू नजिकैबाट गएको उच्च क्षमताको प्रसारण लाइन हटाउन पटक–पटक आग्रह गर्दा पनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयको आरोप छ ।
घटना भएको घरका मालिक पद्मा चिधरका अनुसार उनले घर नजिकैको हाइटेन्सन लाइन हटाउन विद्युत् कम्पनीका अधिकारीहरूलाई धेरै पटक निवेदन दिएका थिए । अधिकारीहरूले तार चाँडै हटाइने आश्वासन दिए पनि लामो समयसम्म कुनै कदम नचाल्दा यो दुर्घटना भएको उनले बताए ।
धेरै आवासीय क्षेत्रहरूमा ११ केभीका लाइनहरू घरहरूसँगै टाँसिएर गएको तर पटक–पटक उजुरी गर्दा पनि नियमित मर्मतसम्भार र सुरक्षाका उपाय नअपनाइएको स्थानीयको आरोप छ ।







