संपादक: नन्दलाल राना
धनगढी । पहिचान उसको भाषा, संस्कार, संस्कृति, परम्परा, रीतिरिवाज हरेक जाति तथा समुदायको, धर्म, विश्वास र जीवनपद्धतिसँग गाँसिएको हुन्छ। यी पक्षहरूले कुनै समुदायलाई छुट्टै चिनारी मात्र दिँदैनन्, पुस्तौँदेखि पुस्तासम्म हस्तान्तरण हुँदै आएको सामूहिक इतिहास र स्मृतिलाई
समेत जीवित राख्छन्। त्यसैले कुनै समुदायले मनाउने पर्वलाई केवल मनोरञ्जन वा धार्मिक अनुष्ठानका रूपमा बुझ्नु पर्याप्त हुँदैन। त्यसका पछाडि रहेका विश्वास, सामाजिक सम्बन्ध, लोकज्ञान, पारिवारिक मूल्य र सामुदायिक व्यवहारलाई पनि बुझ्न आवश्यक हुन्छ।
नेपालको सांस्कृतिक विविधताभित्र रानाथारु समुदायको आफ्नै विशिष्ट स्थान छ। रानाथारु समुदायमा होरी, खख्डेहरा, चराइँ, तिज, बिनाइतबारी, दिबारीलगायत विभिन्न पर्व प्रचलित छन्। तीमध्ये अट्टमी पर्व विशेष धार्मिक, सांस्कृतिक र सामाजिक अर्थ बोकेको पर्वका रूपमा देखिन्छ। रानाथारु भाषामा श्रीकृष्ण जन्माष्टमीलाई ‘अट्टमी’ र श्रीकृष्णलाई ‘कान्हा’ भनिन्छ। अष्टमी तिथिमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वासका आधारमा मनाइने यो पर्व रानाथारु समुदायमा आफ्नै मौलिक विधि, लोकविश्वास, गीत, नृत्य र सामुदायिक सहभागितासहित मनाइन्छ।
तर अट्टमीलाई केवल ‘कृष्ण जन्माष्टमी मनाउने र व्रत बस्ने दिन’ भनेर सीमित गर्नु यसको वास्तविक सांस्कृतिक गहिराइलाई नबुझ्नु हो। अट्टमी पर्वसँगै संस्कार पनि हो, किनभने यसले मानिसको व्यक्तिगत आस्था मात्र होइन, परिवार, सन्तान, स्वास्थ्य, सामाजिक सम्बन्ध, पुर्खाको विश्वास, सामुदायिक सहयोग र जीवनचक्रसँग सम्बन्धित मूल्यहरूलाई समेत अभिव्यक्त गर्छ।
अट्टमीको धार्मिक विश्वास र मनौतीको संस्कार
अट्टमीको मूल आधार श्रीकृष्ण जन्मसम्बन्धी धार्मिक विश्वास हो। धार्मिक मान्यताअनुसार भाद्र महिनाको कृष्णपक्ष अष्टमीको मध्यरातमा देवकीका आठौँ सन्तानका रूपमा कृष्णको जन्म भएको थियो। कंसको अत्याचारबाट संसारलाई मुक्त गराउने भगवानका रूपमा कृष्णलाई श्रद्धा गरिन्छ।
रानाथारु समुदायमा यही धार्मिक कथाले स्थानीय लोकविश्वाससँग विशेष सम्बन्ध बनाएको देखिन्छ। विशेषगरी सन्तान प्राप्तिको इच्छा भएका वा लामो समयदेखि रोगव्याधिबाट पीडित व्यक्तिले अट्टमीको व्रत बस्ने परम्परा रहेको पाइन्छ। यस अर्थमा अट्टमीको व्रत केवल उपवास होइन, मनौती र आशाको संस्कार हो।
‘हे भगवान्, हाम्रो घरमा कान्हाको रूपमा आउनुहोस्’ भन्ने भावनाले व्रत बस्नु भनेको मानिसले आफ्नो दुःख, इच्छा र आशालाई धार्मिक विश्वाससँग जोड्नु हो। यसमा सन्तानप्रतिको चाहना, परिवारको सुख, स्वास्थ्य र दुःखबाट मुक्ति पाउने आकांक्षा अभिव्यक्त हुन्छ। त्यसैले अट्टमीको व्रतलाई रानाथारु समाजको आस्था, आशा र मनौतीको लोकपरम्पराका रूपमा पनि बुझ्न सकिन्छ।
पहिले विशेष दुःखमा परेका व्यक्तिहरूले मात्र यस्तो व्रत बस्ने गरेको सामाजिक स्मृति पाइन्छ। अहिले भने धार्मिक आस्था, पारिवारिक परम्परा वा व्यक्तिगत इच्छाका कारण धेरै मानिसले व्रत बस्न थालेका छन्। यसबाट संस्कार समयसँगै परिवर्तन हुँदै जाने सामाजिक प्रक्रियासमेत देखिन्छ।
तयारीदेखि नै सुरु हुन्छ संस्कार
अट्टमी पर्वको सांस्कृतिक विशेषता यसको मुख्य पूजा वा व्रतमा मात्र सीमित छैन। पर्व आउनुभन्दा केही दिनअघिदेखि नै घर तथा गाउँमा तयारी सुरु हुन्छ। घरको सरसफाइ, लिपपोत, प्रसाद निर्माण, पूजा सामग्रीको तयारी, बाजागाजाको व्यवस्था आदिले पर्वलाई सामूहिक वातावरण प्रदान गर्छ।
घर सफा गर्नु यहाँ केवल भौतिक सरसफाइ होइन; धार्मिक दृष्टिले घरलाई पवित्र बनाउने काम पनि हो। यसले मानिसको बाहिरी वातावरणसँगै मानसिक रूपमा पनि पर्वका लागि तयार हुने अवस्था सिर्जना गर्छ।
महिलाहरूले घर लिपपोत गर्ने, प्रसाद बनाउने तथा पूजा तयारीमा सहभागी हुने र युवायुवती तथा गाउँका अन्य सदस्यहरू गीत, नाच र बाजागाजाको तयारीमा जुट्ने परम्पराले पर्वलाई समुदायका सबै पुस्तालाई जोड्ने माध्यम बनाउँछ।
विशेषगरी खजुरिया बनाउने परम्परा अट्टमीको खाद्यसंस्कृतिसँग जोडिएको महत्वपूर्ण पक्ष हो। गहुँको पिठो र चिनीबाट तयार गरिने खजुरिया केवल खानेकुरा होइन; भगवान्लाई चढाइने नैवेद्य र समुदायमा बाँडिने प्रसाद पनि हो। यसले स्थानीय खाद्यज्ञान, घरेलु सीप र धार्मिक आस्थालाई एउटै परम्परामा जोडेको छ।
डोला : धार्मिक प्रतीक र लोककलाको अभिव्यक्ति
अट्टमीको अर्को महत्वपूर्ण पक्ष हो—कान्हाको डोला। आँपको काठबाट तयार पारिने सानो पलङ, त्यसमा राखिने काँक्रो वा कृष्णको मूर्ति, सेतो कपडा र वरिपरि बनाइने जीवजन्तुका चित्रहरूले अट्टमीलाई विशिष्ट लोककलासँग जोड्छन्।
डोलामा फुललागेको काँक्रालाई कान्हाको प्रतीकका रूपमा स्थापना गर्ने चलनले स्थानीय प्राकृतिक वस्तुलाई धार्मिक प्रतीकमा रूपान्तरण गरेको देखिन्छ। यसमा प्रकृति, कृषि र धर्मबीचको सम्बन्धसमेत देख्न सकिन्छ।
डोला राख्ने प्रक्रियाले रानाथारु समुदायको परम्परागत हस्तकला, स्थानीय सामग्रीको प्रयोग र धार्मिक कल्पनाशक्तिलाई पनि संरक्षण गरेको छ। आज आधुनिक बजारबाट तयार पिङ वा अन्य सामग्री प्रयोग गर्ने चलन बढ्दै गए पनि पुरानो डोला बनाउने परम्पराले समुदायको मौलिक सांस्कृतिक ज्ञान बोकेको छ।
यसकारण डोला केवल भगवान् राख्ने स्थान होइन; धार्मिक प्रतीक, लोककला, हस्तकला र सांस्कृतिक स्मृतिको संगम हो।
हवन र व्रत : व्यक्तिगत आस्थाबाट सामूहिक संस्कारसम्म
अट्टमीमा हवनको विशेष महत्व हुन्छ। आँपको दाउरा, हवन सामग्री, घिउ र धुप आदिको प्रयोग गरी गरिने हवन धार्मिक शुद्धीकरण र भगवान्प्रतिको श्रद्धासँग सम्बन्धित छ।
विशेष गरी पहिलो पटक व्रत बस्ने व्यक्तिले अघिल्लो वर्षदेखि नै परम्परा पालना गर्ने घरमा गएर हवनमा सहभागी हुने र भगवान्सँग आफ्नो मनोकामना राख्ने चलनले अट्टमी संस्कारको एउटा महत्वपूर्ण पक्ष देखाउँछ। यसबाट नयाँ पुस्ता वा नयाँ व्रतालुले पुरानो पुस्ताबाट संस्कार सिक्ने अवसर पाउँछ।
यसरी हेर्दा अट्टमी पुस्तान्तरण हुने संस्कार पनि हो। संस्कार पुस्तक पढेर मात्र सिकिँदैन; हजुरबा–हजुरआमा, आमाबुबा र समुदायका अग्रजसँग बसेर, पूजा हेरेर, गीत सुनेर र अनुष्ठानमा सहभागी भएर सिकिन्छ।
मध्यरात र व्रत खोल्ने परम्परा
अट्टमीको भावनात्मक केन्द्र भगवान् कान्हाको जन्मसँग जोडिएको मध्यरातको समय हो। दिनभर व्रत बसेपछि राति हवन, पूजा र प्रसाद चढाएर कृष्ण जन्मको प्रतीक्षा गरिन्छ। जन्मपछि व्रत खोल्ने परम्पराले धार्मिक कथालाई व्यवहारिक संस्कारमा रूपान्तरण गरेको देखिन्छ।
फलफूल, खजुरिया तथा दूधबाट बनेका परिकार प्रसादका रूपमा ग्रहण गरिन्छ। त्यस दिन नुन नखाने चलन पनि व्रतको अनुशासनसँग सम्बन्धित छ।
यस प्रक्रियाले संयम, धैर्य, श्रद्धा र अनुशासन जस्ता मूल्यलाई सांस्कृतिक रूपमा अभ्यास गराउँछ। व्रत केवल भोकै बस्नु होइन; आफूले गरेको संकल्प पूरा गर्ने अभ्यास पनि हो।
अट्टमीका लोकगीत र नृत्य : मौखिक इतिहासको भण्डार
अट्टमी पर्वको सबैभन्दा महत्वपूर्ण सांस्कृतिक पक्षमध्ये लोकगीत, कीर्तन, रामायण वाचन, ठाडिया नाच, बैठक्की गीत र जाग्राम हुन्। सिमरौनी, गुपली, गर्भौती, जल्मौती, भिनसरियालगायतका गीतले धार्मिक कथालाई स्थानीय लोकभाषा र लोकशैलीमा अभिव्यक्त गर्छन्।
यी गीतहरूलाई केवल मनोरञ्जनका साधनका रूपमा हेर्नु उचित हुँदैन। लिखित इतिहासको पहुँच सीमित भएको समयमा यस्ता लोकगीत र लोकगाथाले समुदायको धार्मिक विश्वास, सामाजिक जीवन र पुर्खाको अनुभवलाई पुस्तौँसम्म बोकेर आएका हुन्छन्।
विशेषगरी कान्हाको जन्म, देवकी, जमुना र कृष्णसँग सम्बन्धित गीतहरूले धार्मिक आख्यानलाई रानाथारु समुदायको आफ्नै सांस्कृतिक परिवेशमा प्रस्तुत गर्छन्। त्यसैले अट्टमीका लोकगीतहरू समुदायको मौखिक अभिलेख पनि हुन्।
रातभर जाग्राम बस्ने, घर–घरमा गीत गाउने र नाच्ने परम्पराले गाउँका मानिसबीचको सम्बन्धलाई अझ बलियो बनाउँछ। यसले पर्वलाई व्यक्तिगत पूजाबाट सामुदायिक उत्सवमा रूपान्तरण गर्छ।
अट्टमीका केही गीतहरु
सिमरौनी गीत:
सिमरे सिमरे गुन गैयो मेरे राम।
कौनएँ गीत गाबो रे सुन लैयो उतार।।
गुपली गीत:
शंकर पिता गरवसी माता सकल लोक परिवार।
सबए देब जुरमतओँ करत हएँ चलहुन हरि के द्वार।।
गर्भौती गीत:
कौन लोक से जा आओ बँभना कौन लोक के जाए।
बाँभनको भेष से नारायण बनी जाए।।
कन्हैयाको जल्मौती गीत:
पनिया भरन के देबकी निकरी जमुना जी के तीर।
भर भादौ की जा बिस अँधियारो कन्हैया लै औतार।।
भिनसरिया गीत:
भेन भई भिनसरिया पछार भई रात, उठोन बारो कान्हा बछरा चरान।।
स्रोत: राना, बम्मन, २०७८ पृ: १०४-११०
कुस्ती, नाच र सामुदायिक प्रतिस्पर्धा
अट्टमीको अर्को रोचक पक्ष कुस्ती र पुरुषहरूको ठाडिया नाच तथा महिलाहरूको बैठक्की गीत हो। कुस्तीमा आफ्नो शक्ति र सीप प्रदर्शन गर्ने परम्पराले मनोरञ्जनसँगै सामुदायिक सहभागिता बढाउँछ।
यस्ता गतिविधिमा स्वस्थ प्रतिस्पर्धा, साहस र शारीरिक दक्षताको प्रदर्शन हुन्छ। त्यस्तै नाच र गीतले समुदायका सदस्यलाई एउटै सांस्कृतिक वातावरणमा सहभागी गराउँछ।
यसबाट अट्टमीमा धर्मसँगै मनोरञ्जन, कला, खेलकुद र सामाजिक सम्बन्ध पनि जोडिएको स्पष्ट हुन्छ।
दोस्रो दिन : राख पुहाउने र सठीको संस्कार
अट्टमीको दोस्रो दिन अझ बढी संस्कारगत महत्व बोकेको देखिन्छ। हवनको खरानी र पूजासामग्री नदीमा लगेर अग्रासन दिने परम्पराले पर्वको एउटा चरण समाप्त भएको संकेत गर्छ।
व्रत त्याग्न चाहने व्यक्तिले नदीमा संकल्पसहित आफूले अब व्रत नबस्ने घोषणा गरी पूजासामग्री विसर्जन गर्ने चलन अत्यन्त अर्थपूर्ण छ। यसले संस्कारमा संकल्प र त्याग दुवैको स्थान रहेको देखाउँछ।
त्यसैगरी एउटै परिवारमा एक व्यक्तिले व्रत त्याग्दा अर्को व्यक्तिले व्रत ग्रहण गर्ने प्रक्रिया संस्कारको निरन्तरता र हस्तान्तरणको सुन्दर उदाहरण हो। यसले व्रतलाई व्यक्तिको निजी अभ्यासभन्दा माथि उठाएर पारिवारिक संस्कार बनाएको देखिन्छ।
कुश, पहेँलो पानी र घर–घरको सम्बन्ध
दोस्रो दिन बालबालिकाले खेतबाट कुश ल्याउने, दूध र बेसार मिसाइएको पहेँलो पानीबाट घर तथा परिवारलाई पवित्र गर्ने र घर–घरमा गएर घरमूलीको खुट्टा धुने परम्परा पनि अट्टमीको सामाजिक पक्ष हो।
यसमा बालबालिकाको सहभागिता विशेष अर्थपूर्ण छ। उनीहरू केवल पर्व हेर्ने होइन, संस्कारको सक्रिय सहभागी बन्छन्। यसरी बालबालिकाले व्यवहारमै आफ्नो समुदायको संस्कृति सिक्छन्।
घर–घरमा पुगेर आशीर्वाद लिने र दान-दक्षिणा प्राप्त गर्ने चलनले गाउँका परिवारबीचको सम्बन्धलाई नवीकरण गर्छ। रोगव्याध घरमा प्रवेश नगर्ने भन्ने जनविश्वासले यसलाई स्वास्थ्य, पवित्रता र सुरक्षासँग जोड्छ।
यसरी अट्टमीले व्यक्ति–परिवार–छिमेक–समुदायलाई जोड्ने सामाजिक पुलको काम गर्छ।
सठी : कृष्ण जन्मलाई जीवनचक्रको संस्कारसँग जोड्ने परम्परा
अट्टमीको दोस्रो दिन साँझ गरिने सठी यसको विशिष्ट सांस्कृतिक पहिचान हो। रानाथारु समाजमा बच्चा जन्मिएपछि नाभी छुटेपछि गरिने संस्कारलाई सठी भनिन्छ। यही जीवनचक्रसँग सम्बन्धित संस्कारलाई कृष्ण जन्मसँग जोडेर मनाइने भएकाले अट्टमीमा सठीको विशेष महत्व देखिन्छ।
यसले एउटा गहिरो सांस्कृतिक अर्थ बोकेको छ—कृष्णको जन्मलाई केवल धार्मिक घटना होइन, नयाँ जीवनको आगमनका रूपमा ग्रहण गर्नु।
पिङ्गसहित अट्टमी मनाउने परिवारमा सठी अनिवार्यजस्तै मानिनु र गाउँभरका मानिसलाई खान बोलाउने चलनले जन्म, परिवार र समुदायबीचको सम्बन्धलाई उजागर गर्छ। गुलगुलाको परिकार चढाएर सबैलाई बाँड्ने परम्पराले सामूहिक खुसी र साझेदारीको भावना प्रकट गर्छ।
यस अर्थमा सठी केवल पूजा होइन; नयाँ जीवनप्रतिको स्वागत, सामुदायिक सहभागिता र सुख बाँड्ने संस्कार हो।
अट्टमी र रानाथारु पहिचान
अट्टमी पर्वको अध्ययन गर्दा एउटा महत्वपूर्ण कुरा देखिन्छ—यसमा धार्मिक तत्व बाहिरी धार्मिक परम्पराबाट मात्र आएको छैन; रानाथारु समुदायले त्यसलाई आफ्नो स्थानीय जीवनशैली, भाषा, लोकगीत, खानपान, कला र सामाजिक सम्बन्धसँग जोडेर आफ्नै सांस्कृतिक रूप दिएको छ।
‘कृष्ण’लाई ‘कान्हा’ भनेर पुकार्नु, जन्माष्टमीलाई ‘अट्टमी’ भन्नु, डोलामा काँक्रालाई कान्हाको प्रतीक बनाउनु, स्थानीय खजुरिया र गुलगुला चढाउनु, आफ्नै लोकगीत गाउनु, ठाडिया नाच र बैठक्की गीत प्रस्तुत गर्नु—यी सबैले धार्मिक पर्वलाई रानाथारु सांस्कृतिक स्वरूप प्रदान गरेका छन्।
त्यसैले अट्टमीलाई केवल कृष्ण जन्माष्टमीको स्थानीय रूप भनेर मात्र बुझ्नु पनि अपूर्ण हुन्छ। यो रानाथारु समुदायले धार्मिक विश्वासलाई आफ्नो सामाजिक र सांस्कृतिक जीवनसँग जोडेर विकसित गरेको जीवित सांस्कृतिक परम्परा हो।
पर्वबाट संस्कारतर्फ
पर्व र संस्कारबीचको अन्तर बुझ्नु यहाँ महत्वपूर्ण हुन्छ। पर्व निश्चित समयमा मनाइने उत्सव हो भने संस्कार मानिसको जीवनपद्धति र व्यवहारमा निरन्तर रहने मूल्य तथा परम्परा हो। अट्टमीमा यी दुवै पक्ष एकअर्कासँग जोडिएका छन्।
व्रतले संयम र संकल्प सिकाउँछ।
पूजाले आस्था र श्रद्धा सिकाउँछ।
हवनले शुद्धीकरण र धार्मिक अनुशासनको भाव दिन्छ।
डोलाले लोककला र हस्तकला जोगाउँछ।
लोकगीतले मौखिक इतिहास बचाउँछ।
नाचले सामूहिकता र मनोरञ्जन दिन्छ।
बालबालिकाको सहभागिताले पुस्तान्तरण सुनिश्चित गर्छ।
घर–घर जाने परम्पराले सामाजिक सम्बन्ध बलियो बनाउँछ।
सठीले नयाँ जीवनप्रतिको सम्मान र सामुदायिक खुसी बाँड्ने संस्कारलाई निरन्तरता दिन्छ।
यसैले अट्टमी मनाउने एउटा दिन मात्र होइन, समुदायले आफ्ना मूल्य र पहिचानलाई व्यवहारमा उतार्ने प्रक्रिया हो।
बदलिँदो समय र चुनौती
समय परिवर्तनसँगै पर्व मनाउने शैली पनि परिवर्तन भइरहेको छ। आधुनिक सामग्रीको प्रयोग, बजारबाट प्रसाद तथा पूजा सामग्री ल्याउने चलन, परम्परागत प्रक्रियाभन्दा देखावटी पक्षलाई बढी महत्व दिने प्रवृत्ति जस्ता परिवर्तनहरू देखिन थालेका छन्।
परिवर्तन आफैँमा नराम्रो होइन। संस्कृति स्थिर वस्तु होइन; समाजसँगै परिवर्तन हुँदै जान्छ। तर परिवर्तनका क्रममा संस्कृतिको मूल अर्थ, सामुदायिक भावना र मौलिक ज्ञान हराउनु भने चिन्ताको विषय हो।
आजको पुस्ताले ‘किन अट्टमी मनाइन्छ?’, ‘किन व्रत बसिन्छ?’, ‘डोला किन राखिन्छ?’, ‘किन यी विशेष गीत गाइन्छन्?’, ‘सठीको अर्थ के हो?’ जस्ता प्रश्नको उत्तर खोज्न आवश्यक छ। परम्परालाई प्रश्न नगरी अन्धरूपमा दोहोर्याउनु पनि उचित होइन र त्यसलाई पुरानो भन्दै पूर्ण रूपमा त्याग्नु पनि उचित हुँदैन।
संस्कृतिभित्र रहेका मानवीय, सामाजिक र सिर्जनात्मक पक्षलाई संरक्षण गर्दै समयअनुकूल सुधार गर्नु आवश्यक छ। कुनै परम्पराले विभेद, अन्धविश्वास वा अनावश्यक पीडा बढाउँछ भने त्यसलाई पुनर्विचार गर्नुपर्छ; तर लोकगीत, भाषा, कला, सामुदायिक एकता, पारिवारिक सम्बन्ध, प्रकृतिप्रतिको सम्मान र पुस्तान्तरणजस्ता सकारात्मक पक्षलाई संरक्षण गर्नुपर्छ।
नयाँ पुस्ताको भूमिका
संस्कृति बचाउने जिम्मेवारी केवल वृद्ध पुस्ताको होइन। नयाँ पुस्ताले आफ्ना अग्रजसँग बसेर अट्टमीका गीत, पूजा विधि, लोककथा, डोला बनाउने सीप, परम्परागत परिकार र यसको सामाजिक अर्थबारे जानकारी लिनुपर्छ।
यसलाई विद्यालय, समुदाय र सांस्कृतिक संस्थासँग जोडेर दस्तावेजीकरण गर्न सकिन्छ। पुराना गीत र लोकगाथा संकलन गर्ने, ज्येष्ठ नागरिकका अनुभव अभिलेख गर्ने, बालबालिकालाई परम्परागत गीत र नृत्य सिकाउने तथा मौलिक संस्कारबारे छलफल गर्ने कामले अट्टमीलाई केवल विगतको सम्झना नभई भविष्यमा पनि बाँचिरहने संस्कृतिका रूपमा स्थापित गर्न सक्छ।
निष्कर्ष
अट्टमी रानाथारु समुदायको धार्मिक आस्था, लोकविश्वास, पारिवारिक सम्बन्ध, सामाजिक एकता, लोककला, लोकगीत, खानपान, जीवनचक्र र पुस्तान्तरणलाई एउटै सांस्कृतिक सूत्रमा बाँध्ने महत्वपूर्ण परम्परा हो। यसको बाहिरी स्वरूपमा व्रत, पूजा, हवन, डोला, प्रसाद, गीत, नाच र सठी देखिए पनि यसको भित्री तहमा आशा, प्रेम, विश्वास, अनुशासन, सामूहिकता र नयाँ जीवनप्रतिको सम्मानजस्ता मानवीय मूल्यहरू रहेका छन्।
त्यसैले अट्टमी केवल पर्व होइन; रानाथारु समुदायले आफ्नो इतिहास, विश्वास र पहिचानलाई हरेक वर्ष पुनःअभिव्यक्त गर्ने जीवित संस्कार हो। यसले विगतलाई वर्तमानसँग र वर्तमानलाई भविष्यसँग जोड्छ।
आजको पुस्ताले अट्टमीलाई केवल रमाइलो, भीडभाड र देखावटी उत्सवमा सीमित नगरी यसको मूल अर्थ बुझ्न आवश्यक छ। पुर्खाले किन यस्तो परम्परा सुरु गरे, त्यसमा कुन सामाजिक र मानवीय मूल्य लुकेको छ र समयअनुकूल रूपमा कुन पक्षलाई संरक्षण तथा कुन पक्षलाई सुधार गर्नुपर्छ भन्ने विषयमा गम्भीर भएर सोच्नुपर्छ।
संस्कृति त्यतिबेला मात्र जीवित रहन्छ, जब नयाँ पुस्ताले त्यसलाई केवल हेर्दैन, बुझ्छ, प्रश्न गर्छ, सकारात्मक पक्ष ग्रहण गर्छ र जिम्मेवारीपूर्वक अर्को पुस्तालाई हस्तान्तरण गर्छ। यही दृष्टिले हेर्दा अट्टमी रानाथारु समुदायको एउटा पर्व मात्र नभई उनीहरूको सामूहिक स्मृति, सामाजिक सम्बन्ध र सांस्कृतिक अस्तित्वको महत्वपूर्ण आधारका रूपमा स्थापित हुन्छ।
स्रोत: लक्ष्मी रानाको रानाथारू डटकममा,बासमति रानाको थारूलोक सहित्यमा छपिएको लेखबाट सभार गरिएको छ ।







