कञ्चनपुर । सौन्दर्य तथा ब्युटिसियन क्षेत्रमा विगत दुई दशकदेखि निरन्तर सक्रिय रहँदै महिलालाई सीप, स्वरोजगार र आत्मनिर्भरताको बाटोमा अघि बढाउन महत्वपूर्ण योगदान पुर्‍याउँदै आएकी कञ्चनपुरकी अमृता कुमारी राना ‘सेकेन्ड नेपाल ब्युटिसियन अवार्ड–२०८३’ बाट सम्मानित भएकी छन्।

मंगलादेवी सिंह फाउन्डेसन र गंगबु ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरको संयुक्त आयोजनामा काठमाडौंमा सम्पन्न भएको विशेष अवार्ड कार्यक्रममा रानासहित देशका विभिन्न जिल्लामा लामो समयदेखि सौन्दर्य तथा ब्युटिसियन क्षेत्रमा योगदान पुर्‍याउँदै आएका १० जना अनुभवी सौन्दर्यकर्मीलाई सम्मान गरिएको हो।

सौन्दर्य क्षेत्रमा पुर्‍याएको दीर्घकालीन योगदान तथा महिलालाई सीप सिकाई स्वरोजगार र आत्मनिर्भर बनाउन गरेको प्रयासको उच्च मूल्यांकन गर्दै रानालाई सम्मान गरिएको आयोजकले जनाएको छ। उनलाई प्रदान गरिएको सम्मानपत्रमा रानाले विगत दुई दशकदेखि नेपालमा सौन्दर्य क्षेत्रको विकास, बेरोजगार जनशक्तिलाई रोजगारीको अवसर सिर्जना तथा विशेषगरी महिलालाई सीप र व्यवसायमार्फत आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरिएको छ।

कञ्चनपुरको बेदकोट–सिसैयामा Amrita Beauty Home सञ्चालन गर्दै आएकी रानाले सौन्दर्य सेवा प्रदान गर्नुका साथै ब्युटिसियनसम्बन्धी सीप तथा व्यावसायिक दक्षता प्रदान गर्दै महिलालाई आत्मनिर्भर बनाउने कार्यमा समेत निरन्तर योगदान दिँदै आएकी छन्। सौन्दर्य क्षेत्रमा आवश्यक सीप हासिल गरेपछि महिलाले आफ्नै व्यवसाय सञ्चालन गरी आयआर्जन गर्न सक्ने र परिवार तथा समाजमा आर्थिक रूपमा योगदान पुर्‍याउन सक्ने उनको विश्वास रहँदै आएको छ।

रानाले लामो समयदेखि सौन्दर्य क्षेत्रमा काम गर्दै गर्दा आफूले हासिल गरेको अनुभव र सीपलाई अन्य महिलासम्म पुर्‍याउने प्रयास गर्दै आएकी छन्। विशेषगरी रोजगारीको अवसरबाट वञ्चित तथा आफ्नो आयस्रोतको खोजीमा रहेका महिलालाई सौन्दर्यसम्बन्धी सीप सिकाएर स्वरोजगार बन्न प्रेरित गर्ने काममा उनको योगदान रहेको बताइएको छ।

काठमाडौंमा आयोजित अवार्ड समारोहमा नेपालकै पहिलो कस्मोटोलोजिस्ट परीसी कारन्जित, विराटनगरकी वरिष्ठ सौन्दर्यविद् सन्तोषी श्रेष्ठ, वीरगञ्जकी गुड्डी जोशी, खगिसरा लामिछाने, मकवानपुर हेटौंडाकी गमला राजभण्डारी, जनकपुरकी लुसीदेवी शाह, बर्दियाकी राधा कुँवर, कञ्चनपुरकी अमृता कुमारी राना, सुदूरपश्चिमकी निशा सिंह तथा सौन्दर्य कला व्यवसाय संघ ललितपुर जिल्ला अध्यक्ष शारदा मुल्मीलगायत १० जना सौन्दर्यकर्मीलाई सम्मान गरिएको थियो।

कार्यक्रममा बागमती प्रदेशकी निवर्तमान मन्त्री हरिप्रभा खड्की प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन्। उनले महिलाको वास्तविक सशक्तीकरणका लागि आर्थिक आत्मनिर्भरता अत्यन्त आवश्यक रहेको बताउँदै सीप, स्वरोजगार र आर्थिक सशक्तीकरणका क्षेत्रमा सौन्दर्य व्यवसायले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको धारणा व्यक्त गरिन्।

उनका अनुसार महिलालाई सीपमूलक तालिम प्रदान गरी आफ्नै व्यवसाय सञ्चालन गर्न सक्षम बनाउनु महिला सशक्तीकरणको महत्वपूर्ण आधार हो। सौन्दर्य क्षेत्रले छोटो समयमै व्यावसायिक सीप हासिल गरी रोजगारी तथा स्वरोजगार सिर्जना गर्ने अवसर प्रदान गरिरहेको उनले बताइन्।

अवार्डबाट सम्मानित भएपछि अमृता कुमारी रानाले आफूले विगत दुई दशकदेखि सौन्दर्य क्षेत्रमा गर्दै आएको यात्राको कदर भएको महसुस गरेको बताइन्। उनले यो सम्मान व्यक्तिगत उपलब्धि मात्र नभई महिलालाई सीप, रोजगारी र स्वरोजगारमार्फत आत्मनिर्भर बनाउने अभियानको सम्मानका रूपमा लिएको प्रतिक्रिया दिइन्।

रानाले भनिन्, “यो सम्मान मेरो दुई दशक लामो सौन्दर्य यात्राको कदर मात्र होइन, महिलालाई सीप र रोजगारीमार्फत आत्मनिर्भर बनाउने अभियानको सम्मान पनि हो।”

उनले आगामी दिनमा पनि सौन्दर्य क्षेत्रमा नयाँ पुस्तालाई आवश्यक सीप र ज्ञान प्रदान गर्दै महिलालाई आर्थिक रूपमा सक्षम र आत्मनिर्भर बनाउन निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

नेपालमा पछिल्लो समय सौन्दर्य तथा ब्युटिसियन व्यवसाय रोजगारी र स्वरोजगारको महत्वपूर्ण क्षेत्रका रूपमा विकसित हुँदै गएको छ। विशेषगरी महिलाका लागि कम लगानीमा व्यवसाय सुरु गरी आफ्नै आयआर्जन गर्न सकिने भएकाले यो क्षेत्रप्रति आकर्षण बढ्दै गएको छ। यस्ता क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका सौन्दर्यकर्मीलाई सम्मान गर्दा उनीहरूको योगदानको कदर हुनुका साथै नयाँ पुस्तालाई समेत यस क्षेत्रमा अघि बढ्न प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।

कञ्चनपुरबाट सौन्दर्य क्षेत्रमा निरन्तर सक्रिय रहँदै राष्ट्रियस्तरको सम्मान प्राप्त गर्न सफल रानाको यो उपलब्धिले जिल्लाको सौन्दर्य तथा व्यवसायिक क्षेत्रमा समेत सकारात्मक सन्देश दिएको छ। महिलाको सीप विकास, स्वरोजगार र आर्थिक आत्मनिर्भरताका लागि उनको निरन्तर प्रयासलाई यस अवार्डले थप प्रोत्साहन मिल्ने विश्वास गरिएको छ।

सेयर कर दियो ।