नरेश राना / लालझाडी
कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नं. ३ मा वडा स्तरीय तिज विशेष तथा मिलन कार्यक्रम सम्पन्न भएको छ।
नेपाली महिलाहरूको महत्वपूर्ण पुर्व हरितालिका तिजको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रममा स्थानीय महिला तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमको सभाध्यक्षता प्रीति रानाले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा लालझाडी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष टिकाराम डगौरा रहनुभएको थियो। त्यसैगरी विशिष्ट अतिथिका रूपमा लालझाडी गाउँपालिकाका वडा सदस्य मोहन वडायकको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागीहरूले तिज पर्वको सांस्कृतिक तथा सामाजिक महत्वबारे चर्चा गर्दै आपसी सद्भाव, एकता र भाइचारालाई थप मजबुत बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए। तिजको अवसरमा महिला दिदीबहिनीहरूले एक–अर्कासँग शुभकामना आदानप्रदान गर्नुका साथै तिजका गीत तथा नृत्य प्रस्तुत गर्दै कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएका थिए।
कार्यक्रममा स्थानीय भलमन्सा, समाजसेवी, अगुवा तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको समेत उपस्थिति रहेको थियो। स्थानीय स्तरमा महिला तथा समुदायबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रमले आपसी भेटघाट र सांस्कृतिक आदानप्रदानको अवसर प्रदान गरेको सहभागीहरूले बताएका छन्।
कार्यक्रममा स्वागत मन्तव्य आयोजक पक्षबाट राखिएको थियो। सहभागीहरूले तिज पर्वलाई आफ्नो मौलिक संस्कृति, परम्परा र सामाजिक एकताको पर्वका रूपमा मनाउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमको सञ्चालन शिक्षक मानबहादुर रानाले गर्नुभएको थियो। उहाँले कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्दै तिज पर्वको मौलिकता र सांस्कृतिक महत्वलाई संरक्षण गर्दै आगामी पुस्तासम्म पुर्याउनुपर्ने आवश्यकता औँल्याउनुभएको थियो।
स्थानीयस्तरमा आयोजना हुने यस्ता वडा स्तरीय सांस्कृतिक कार्यक्रमले समुदायका नागरिकबीच आपसी सद्भाव, मेलमिलाप र एकताको भावना विकास गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।







