ज्ञानु राना /। धनगढी, कैलाली, – कैलालीको धनगढी उपमहानगरपालिका–७ मनेहरास्थित श्री सरस्वती माध्यमिक विद्यालयका निवर्तमान प्रधानाध्यापक श्री ज्ञानेन्द्र बहादुर शाहको सम्मानमा बिहीबार एक भव्य विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ।
विद्यालय परिवारले आयोजना गरेको उक्त कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर–७ का वडा अध्यक्ष श्री मोती राना थारु प्रमुख अतिथिको रूपमा उपस्थित रहनुभएको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्रीमती चन्द्रकला दवाडी, वडा सदस्य श्री बासु राना, विभिन्न विद्यालयका शिक्षक–शिक्षिका, अभिभावक, पत्रकार, उसु गुरु तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मोती राना थारुले निवर्तमान प्रधानाध्यापक शाहले शिक्षाको क्षेत्रमा पुर्याउनुभएको योगदान अतुलनीय रहेको बताउनुभयो। उहाँले शाहको ३९ वर्षको लामो शैक्षिक सेवाले विद्यालय र समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै आगामी जीवनको सफलताको शुभकामना व्यक्त गर्नुभयो।
विद्यालयकी प्रधानाध्यापक श्रीमती चन्द्रकला दवाडीले श्री शाहले विद्यालयको शैक्षिक, भौतिक तथा प्रशासनिक विकासमा पुर्याउनुभएको योगदान सधैँ स्मरणीय रहने बताउनुभयो। उहाँले शाहको अनुभव, नेतृत्व क्षमता र समर्पण भावबाट सम्पूर्ण शिक्षक तथा विद्यार्थी प्रेरित भएको उल्लेख गर्नुभयो।
विदाई कार्यक्रममा वक्ताहरूले श्री ज्ञानेन्द्र बहादुर शाहको ३९ वर्षे शैक्षिक यात्राको प्रशंसा गर्दै उहाँले हजारौँ विद्यार्थीको भविष्य निर्माणमा खेलेको भूमिकाको उच्च मूल्याङ्कन गरेका थिए। कार्यक्रममा उहाँलाई दोसल्ला, मायाको चिनो तथा सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो।
निवर्तमान प्रधानाध्यापक शाहले आफूलाई विद्यालय परिवारले दिएको माया, सम्मान र सहयोगप्रति आभार व्यक्त गर्दै शिक्षा क्षेत्रबाट औपचारिक अवकाश लिए पनि समाज र शैक्षिक गतिविधिमा निरन्तर योगदान दिइरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमको समापन शुभकामना आदानप्रदान तथा सामूहिक फोटोसहित गरिएको थियो। सहभागीहरूले श्री शाहको आगामी जीवन सुख, समृद्धि र सुस्वास्थ्यले भरिपूर्ण रहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए।







