धनगढी, असार — रानाथारु पञ्चाङ समितिले यस वर्ष रानाथारु समुदायको तिज पर्व साउन ३० गते (सावन शुक्ल तृतीय तिथी का दिन) मनाउने निर्णय गरेको छ।
समितिका संयोजक तीर्थराज रानाका अनुसार यस वर्ष जेठ २ गतेदेखि अधिकमास (मलमास) सुरु भएकाले तिथिहरूमा परिवर्तन आएको छ। अधिकमासका कारण जेठ महिनामा पर्ने तिथिहरू असारमा र असारमा पर्ने तिथिहरू साउनमा सरेका छन्। यही कारणले सावन शुक्ल तृतीय तिथी का दिन साउन महिनाको अन्तिमतिर अर्थात् साउन ३० गते पर्न गएको उहाँले जानकारी दिनुभयो।
उहाँका अनुसार तिथिको यही परिवर्तनलाई आधार मानी रानाथारु पञ्चाङ समितिले यस वर्ष रानाथारु समुदायले साउन ३० गते तिज पर्व मनाउने निर्णय गरेको हो।
त्यसैगरी, तिज पर्वको अवसरमा खेलिने परम्परागत पिङ साउन १४ गते हालिने पनि संयोजक रानाले बताउनुभयो।
नेपाल रानाथारू समाजका केन्द्रिय अध्यक्ष कमल सिंह रानाले र रानाथारु पञ्चाङ समितिले सम्पूर्ण रानाथारु समुदायलाई समितिको निर्णयअनुसार निर्धारित मितिमा तिज पर्व मनाउन अनुरोध गरेको छ।






