नरेश राना / कञ्चनपुर
कञ्चनपुरको कृष्णपुर नगरपालिकामा सिकलसेल एनिमिया, थालसेमिया लगायतका रक्तजन्य रोगहरूको रोकथाम, पहिचान तथा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कृष्णपुर नगरपालिका स्वास्थ्य शाखा, गुलरियाको आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रममा कृष्णपुर नगरपालिकाका उपप्रमुख द्रोपती रानाको सभापतित्व रहेको थियो भने जिल्ला समन्वय समिति कञ्चनपुरकी उपप्रमुख रामकुमारी राना प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सरोकारवाला निकायका प्रतिनिधि तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमका मुख्य प्रशिक्षक तथा जिल्ला जनस्वास्थ्य निरीक्षक सिद्धराज भट्टले सिकलसेल एनिमिया र थालसेमिया जस्ता रक्तजन्य रोगहरूको परिचय, कारण, लक्षण, परीक्षण प्रक्रिया, उपचार तथा रोकथामका उपायबारे विस्तृत जानकारी गराउनुभएको थियो। उहाँले यस्ता रोगहरूको समयमै परीक्षण तथा पहिचान गर्न सके जटिलता कम गर्न सकिने बताउँदै समुदायस्तरमा जनचेतना फैलाउन आवश्यक रहेको उल्लेख गर्नुभयो।
सहजीकरणका क्रममा सिकलसेल एनिमिया र थालसेमिया वंशाणुगत रोग भएकाले विवाहपूर्व तथा गर्भावस्थामा आवश्यक स्वास्थ्य परीक्षण गराउनुपर्ने विषयमा समेत जानकारी दिइएको थियो। साथै प्रभावित व्यक्तिहरूलाई नियमित स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवाको पहुँच सुनिश्चित गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण रहने बताइएको थियो।
सभापति द्रोपती रानाले नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न जनस्वास्थ्य कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै सिकलसेल तथा थालसेमिया प्रभावित नागरिकहरूको स्वास्थ्य अधिकार सुनिश्चित गर्न आवश्यक सहयोग र समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रम सञ्चालन कृष्णपुर नगरपालिका स्वास्थ्य शाखाका संयोजक बन्सीराज भट्टले गर्नुभएको थियो। कार्यक्रमका सहभागीहरूले रक्तजन्य रोगसम्बन्धी विभिन्न जिज्ञासा राख्दै रोगको पहिचान, उपचार तथा सरकारी सेवासम्बन्धी विषयमा अन्तरक्रिया गरेका थिए।
आयोजकका अनुसार यस्ता कार्यक्रमहरूले समुदायस्तरमा स्वास्थ्य चेतना अभिवृद्धि गर्नुका साथै सिकलसेल एनिमिया, थालसेमिया लगायतका रक्तजन्य रोगहरूको समयमै पहिचान र नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।






