नरेश राना / कञ्चनपुर
कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नं. ४ देखतभुलीमा विद्युतीय करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय ६८ वर्षीया निरासा राना रहेको जनाइएको छ। आज बिहान करिब ९ बजे घर नजिक रहेको सिँचाइका लागि प्रयोग हुने मोटर सञ्चालन गर्ने क्रममा उनलाई अचानक विद्युतीय करेन्ट लागेको थियो।
स्थानीयवासीका अनुसार मोटर चलाउने क्रममा करेन्ट लागेपछि उनी घटनास्थलमै ढलेकी थिइन्। घटनापछि तत्काल उद्धारको प्रयास गरिए पनि उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ।
स्थानीय झेल सिंह रानाले दिएको जानकारी अनुसार सिँचाइ मोटरमा आएको विद्युतीय चुहावटका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ। घटनापछि गाउँमा शोकको वातावरण छाएको छ।
घटनाबारे थप अनुसन्धानका लागि सम्बन्धित निकाय तथा प्रहरी टोलीले आवश्यक प्रक्रिया अगाडि बढाएको जनाएको छ।






