धनगढी । धनगढी उपमहानगरपालिका-१७ उत्तरखैरेनी मुक्त कमैया शिविरका १० वर्षीय तनुज चौधरीको हत्या प्रकरणमा प्रहरीले अनुसन्धान तीव्र बनाएको छ। प्रारम्भिक अनुसन्धानले बालकको कानमा रहेको सुनको मुन्द्रा लुट्ने उद्देश्यले हत्या गरिएको हुन सक्ने संकेत गरेको छ।
बुधबार दिउँसो साइकल लिएर घरबाट निस्किएका तनुज बाटोमा आफ्ना समवयस्क साथी राम चौधरी (नाम परिवर्तन) सँग भेटिएका थिए। रामका बुवा दिलखुस चौधरी गौरीगंगा नगरपालिका-६ मोयामा रोपाइँ गरिरहेको जानकारी पाएपछि दुवै बालक छुट्टाछुट्टै साइकलमा त्यहाँ पुगेका थिए।
खेतमा दिलखुस चौधरी रोपाइँमा व्यस्त रहेका बेला तनुज र राम नजिकैको खोलामा गंगटा मार्न गएका थिए। उनीहरूले समातेका गंगटा दिलखुस चौधरी, विष्णु चौधरी, स्थानीय टेक कठायत तथा उनका छोरा खगेन्द्र कठायतले पोलेर खाएका थिए। सो क्रममा घरेलु मदिरा सेवनसमेत भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
पछि दुवै बालक नजिकैको घरमा पानी पिउन गएका थिए। त्यसपछि राम बुवासँगै फर्किने भन्दै छुट्टिएका थिए भने तनुज साँझ करिब ६ बजे एक्लै साइकलमा घरतर्फ लागेको बताइएको छ। तर उनी घर नपुगेपछि परिवारले खोजी सुरु गरेको थियो।
परिवारको सूचनापछि प्रहरी र स्थानीयवासीले संयुक्त रूपमा खोजी अभियान चलाएका थिए। खोजीकै क्रममा शुक्रबार धनगढी र गौरीगंगाको सीमास्थित कालिका सामुदायिक वनभित्र तनुजको शव फेला परेको हो।
प्रहरीका अनुसार कच्ची सडकबाट करिब ४० मिटर भित्र जंगलमा शव भेटिएको थियो। घटनास्थल नजिकै बालकको साइकल, कालो प्लास्टिकको झिल्ली, गंगटाका अवशेष तथा चप्पलसमेत फेला परेका छन्।
शव आंशिक रूपमा सड्न थालेको अवस्थामा रहेको भए पनि घटनास्थल वरिपरि रगतका छिटा, रगतले लतपतिएका ढुंगा तथा सडकदेखि शव रहेको स्थानसम्म रगतका चिन्ह भेटिएकाले हत्या सोही स्थानमा गरिएको प्रारम्भिक निष्कर्षमा प्रहरी पुगेको छ।
अनुसन्धानका क्रममा तनुजले लगाउने गरेको सुनको मुन्द्रा घटनास्थलमा नभेटिएकाले लुटपाटपछि हत्या भएको आशंका बलियो बन्दै गएको छ। मृतककी मामली बज्यै अनितादेवी चौधरीले पनि सुनको मुन्द्राकै लोभमा बालकको हत्या भएको हुन सक्ने आशंका व्यक्त गर्दै दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेकी छन्।
घटनासँग सम्बन्धित अनुसन्धानका लागि तनुजसँग अन्तिम पटक देखिएका नाबालक साथी, उनका बुवा दिलखुस चौधरी, विष्णु चौधरी तथा स्थानीय टेक कठायतलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ।
यद्यपि घटनाका बेला उपस्थित रहेका करिब २५ वर्षीय खगेन्द्र कठायत भने फरार रहेको प्रहरीले जनाएको छ। उनको खोजी कार्य तीव्र पारिएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ परेकाहरूको बयान, घटनास्थलबाट संकलित प्रमाण तथा प्रारम्भिक अनुसन्धानका आधारमा खगेन्द्र कठायतसहितको संलग्नतामा हत्या भएको हुन सक्ने आशंका गरिएको छ। यद्यपि अनुसन्धान जारी रहेकाले घटनाबारे अन्तिम निष्कर्षमा पुग्न बाँकी रहेको प्रहरीले जनाएको छ।







