नरेश राना /लालझाडी, कञ्चनपुर 

कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर ३ स्थित बल्मी गाउँमा विद्युत् तार सर्ट भई एक गोठमा आगलागी हुँदा करिब २ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

स्थानीय राजेन्द्र रानाको गोठमा अचानक विद्युत् तार सर्ट भई आगलागी भएको पीडित राजेन्द्र रानाले जानकारी दिएका छन्। आगलागीका कारण गोठमा रहेको टायल, वाली कडी तथा अन्य निर्माण सामग्री पूर्ण रूपमा जलेर नष्ट भएको बताइएको छ।

घटनापछि स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो। समयमै आगो नियन्त्रणमा ल्याइएकाले थप मानवीय तथा भौतिक क्षति हुनबाट जोगिएको स्थानीयले बताएका छन्।

पीडित रानाका अनुसार आगलागीबाट करिब २ लाख रुपैयाँ बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ। आगलागीको घटनापछि प्रभावित परिवार समस्यामा परेको छ भने क्षतिको यथार्थ विवरण संकलन गर्ने कार्य भइरहेको जनाइएको छ।

स्थानीयवासीले विद्युत् लाइन तथा तारहरूको नियमित निरीक्षण र मर्मतसम्भारमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने माग गरेका छन्। विद्युत् सर्टका कारण हुने यस्ता घटनाले ग्रामीण क्षेत्रमा ठूलो आर्थिक क्षति पुर्‍याउने भएकाले आवश्यक सावधानी अपनाउनुपर्ने सरोकारवालाहरूले बताएका छन्।