लालझाडी, कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–२ स्थित शंकरपुर स्वास्थ्य चौकीलाई सुत्केरी आमा तथा नवजात शिशुको उपचार र हेरचाहलाई थप सहज तथा प्रभावकारी बनाउन पाँच वटा सामुदायिक वन उपभोक्ता समूहले संयुक्त रूपमा एक थान एयर कन्डिसनर (एसी) सहयोग गरेका छन्।

बैजनाथ सामुदायिक वन उपभोक्ता समूह, अशोक सामुदायिक वन उपभोक्ता समूह, सिद्धवैजनाथ सामुदायिक वन उपभोक्ता समूह, जय भोले सामुदायिक वन उपभोक्ता समूह तथा वागवाणी सामुदायिक वन उपभोक्ता समूहको संयुक्त पहलमा स्वास्थ्य चौकीको प्रसूति कक्षका लागि एसी प्रदान गरिएको हो।

एक कार्यक्रमका बीच उक्त एसी शंकरपुर स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा लालझाडी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष आशाराम रानालाई हस्तान्तरण गरिएको थियो। एसी हस्तान्तरण कार्यक्रममा सामुदायिक वनका पदाधिकारी, स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।

सामुदायिक वनका पदाधिकारीहरूले गर्मीयाममा अत्यधिक तापक्रम तथा जाडोयाममा बढ्दो चिसोका कारण प्रसूति सेवा लिन आउने सुत्केरी आमा र नवजात शिशुले विभिन्न प्रकारका असहजता भोग्नुपरेको अवस्थालाई मध्यनजर गर्दै एसी सहयोग गरिएको बताएका छन्। यस सहयोगले प्रसूति कक्षको वातावरणलाई थप अनुकूल बनाउन मद्दत पुग्ने र स्वास्थ्य सेवा गुणस्तरीय बन्ने विश्वास व्यक्त गरिएको छ।

स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष एवं वडाध्यक्ष आशाराम रानाले सामुदायिक वन उपभोक्ता समूहहरूको सहयोगप्रति आभार व्यक्त गर्दै यस्तो सामाजिक उत्तरदायित्वपूर्ण कार्यले स्थानीय स्वास्थ्य सेवाको स्तर सुधार गर्न महत्वपूर्ण योगदान पुग्ने बताए। उनले प्राप्त एसी प्रसूति कक्षमा जडान गरी सुत्केरी आमा तथा नवजात शिशुलाई आरामदायी वातावरणमा सेवा प्रदान गरिने जानकारी दिए।

स्थानीयवासीले पनि सामुदायिक वनहरूको यस पहलको प्रशंसा गर्दै आगामी दिनमा स्वास्थ्य, शिक्षा तथा सामाजिक क्षेत्रका अन्य आवश्यकतामा समेत यस्ता संस्थाहरूले सहयोगको निरन्तरता दिनुपर्ने बताएका छन्।

सामुदायिक वन उपभोक्ता समूहहरूले वन संरक्षणसँगै सामाजिक विकासका क्षेत्रमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। स्वास्थ्य चौकीलाई प्रदान गरिएको एसी सहयोगले स्थानीय समुदायमा स्वास्थ्य सेवाप्रतिको विश्वास बढ्नुका साथै सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य सुरक्षामा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।