नरेश राना / कञ्चनपुर
नेपालको राष्ट्रिय बहाई समुदायको आयोजनामा लालझडी गाउँपालिका वडा नम्बर ३, बल्मीमा निर्माण हुन लागेको बहाई मन्दिर (बहाई उपासना गृह) को डिजाइन सोमबार एक कार्यक्रमका बिच अनावरण गरिएको छ।कार्यक्रमको सभापति नेपालको राष्ट्रिय बहाई समुदायको राष्ट्रिय अध्यक्ष सोमनाथ राना,विशिष्ट अतिथि लालझाडी गाउँपालिका अध्यक्ष निर्मल राना, पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्मा, बेलौरी नगरपालिकाका नगर उप प्रमुख जोगराम चौधरी,लालझाडी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत राज बहादुर सार्की, पुनर्वास नगरपालिकाका निवर्तमान नगर प्रमुख जीवनराम थापा लगायत नेपालको लागी राष्ट्रिय बहाई समुदाय राष्ट्रिय आध्यात्मिक सभाका पदाधिकारीहरु,समाजसेवी बुद्धिजीवी,बहाई समुदायका अनुयायीहरूको उल्लेखेनिय सहभागिता रहेको थियो।

सामन्तताको सिद्धान्त अनुसार सञ्चालन भएको कार्यक्रममा विशिष्ट अतिथि रूपमा सहभागिता गराइएको थियो।मन्दिर निर्माणका लागि १ लाख ८० हजार युनिटमा निर्माण हुने भएकाले सम्पूर्ण समुदायमा सहयोग अपिल गरिएको छ। यस मन्दिरको निर्माणले सम्पूर्ण धर्म, संस्कृति, समुदायलाई एक आपसमा जोड्नलाई मद्दत पुग्ने समेत आचार्यले जानकारी दिनुभयो।कार्यक्रममा मन्दिरको डिजाइन निर्माणका लागि स्थानीय संस्कृति,धार्मिक आस्था र एकता कसरी प्रतिविम्ब दिन सक्ने विषयमा नेपालको राष्ट्रिय बहाई समुदायको एसिया महादिपका सल्लाहकार यम प्रसाद आचार्यले जानकारी गराउनुभएको थियो। मन्दिर निर्माणका देशभरिका सबै समुदायले प्रदान गरेको दानबाट निर्माण हुन लागेको समेत बताउनुभयो।कार्यक्रममा बोल्दै बेलौरी नगरपालिका नगर उप प्रमुख जोगराम चौधरीले बहाई मन्दिरले यहाँको सामाजिक वातावरणलाई अझ सुदृढ बनाउँदै विभिन्न समुदायबीच सहकार्य र समझदारी बढाउने बताउनुभयो।यसले भविष्यमा यस क्षेत्रलाई शान्ति र एकताको उदाहरणका रूपमा चिनाउन मद्दत गर्ने समेत बताउनुभयो।कार्यक्रममा बोल्दै पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्माले बहाई मन्दिरको निर्माणले विभिन्न समुदायबीचको दूरी घटाएर आपसी विश्वास र सहकार्यलाई मजबुत हुने बताउँदै मन्दिर निर्माणले सामाजिक एकता र शान्तिको दीर्घकालीन आधार निर्माण गर्ने समेत बताउनुभयो।

कार्यक्रममा बोल्दै लालझाडी गाउँपालिका अध्यक्ष निर्मल रानाले लालझाडी गाउँपालिकामा यस्तो महत्वपूर्ण धार्मिक तथा सामाजिक संरचना निर्माण हुनु हाम्रो लागि गर्वको विषय भएको बताउँदै सामाजिक सद्भाव, सहिष्णुता र एकताको वातावरण निर्माण गर्न ठूलो योगदान पुर्याउने समेत बताउनुभयो।स्थानीय सरकारको तर्फबाट आवश्यक सबै प्रकारको सहयोग र सहजीकरणमा आफूले सक्दो सहयोग गर्ने समेत बताउनुभयो।कार्यक्रमको समापन बोल्दै सभापति नेपालको राष्ट्रिय बहाई समुदायको राष्ट्रिय अध्यक्ष सोमनाथ रानाले बहाई मन्दिर मानव एकता, प्रेम र सह अस्तित्वको जिवन्त प्रतीक रहेको बताउँदै कुनै जात, धर्म वा वर्गका आधारमा भेदभाव नगरी सबैलाई एकै सूत्रमा जोड्ने काम गर्ने बताउनुभयो।कार्यक्रममा सांस्कृतिक नृत्य पनि प्रस्तुत गरिएको थियो।







