धनगढी, १८ वैशाख ।
सुदूरपश्चिम प्रदेश स्तरीय गायन प्रतियोगिता ‘एरिष्टो प्लस टु एसइई आईडल ५’ को सेमिफाइनल शुक्रबार धनगढीमा सम्पन्न भएको छ ।

प्रभात मिडिया एण्ड ईभेन्ट म्यानेजमेन्टको आयोजनामा भएको उक्त प्रतियोगिताको पाँचौँ संस्करणको सेमिफाइनलमा प्रदेशभरिका एसइई दिएर बसेका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो
धनगढीस्थित ओम प्यालेसमा आयोजित विशेष समारोहका बीच सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टी. एन. जोशीले कार्यक्रमको उद्घाटन गर्नुभयो । उद्घाटन मन्तव्यका क्रममा प्रमुख अतिथि जोशीले यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा लुकेर रहेको प्रतिभा प्रस्फुटन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथिको रूपमा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गा दत्त ओझा, पश्चिम टुडेका सम्पादक खेमराज उपाध्याय र नाष्ट कलेजका प्राचार्य शिवहरी मुडभरी रहनुभएको थियो । त्यस्तै, अतिथिहरूमा कैलाली विद्या निकेतनका प्र.अ. टोपेन्द्र शाह र डिस्कभरी स्कुलका प्र.अ. योगेन्द्र सिंह लगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगिताको निर्णायक भूमिकामा कृष्णा सिराडी रहनुभएको थियो भने कार्यक्रमको सञ्चालन गुणाकर पनेरु र रेखा धानुकले गर्नुभएको थियो । प्रभात मिडियाका अध्यक्ष प्रकाश छेडालले सुदूरपश्चिमका कुना–कन्दरामा रहेका प्रतिभालाई उचित मञ्च प्रदान गर्नु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको जानकारी दिनुभयो ।

आयोजकका अनुसार सेमिफाइनलको नतिजा यही वैशाख २७ गते प्रकाशित गरिनेछ र अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका प्रतियोगीहरूको नाम सार्वजनिक गरिनेछ । प्रतियोगिताको फाइनल (महा–संग्राम) आउँदो जेठ ७ गते धनगढीमा हुनेछ ।
सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान मुख्य प्रबर्द्धक र एरिष्टो प्लस टु मुख्य प्रायोजक रहेको यस कार्यक्रमलाई वाइवाइ चाउचाउ, नेपाल टेलिकम तथा रेडिकल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजीले विशेष सहयोग गरेका छन् ।







