नरेश राना /कञ्चनपुर
कञ्चनपुर को लालझाडी गाउँपालिका मा विज्ञान शिक्षालाई व्यवहारिक र सिर्जनात्मक बनाउने उद्देश्यले “विज्ञान सामग्री निर्माण कार्यशाला तथा प्रदर्शनी कार्यक्रम” सम्पन्न भएको छ। गाउँपालिकाको वडा नं. २ स्थित श्री भानु माध्यमिक विद्यालय मा आयोजित उक्त कार्यक्रमले विद्यार्थी तथा शिक्षकहरूलाई विज्ञानप्रति थप आकर्षित गरेको छ।

कार्यक्रम कञ्चनपुर को लालझाडी गाउँपालिकाका सरकारी तथा संस्थागत विद्यालयका शिक्षक र विद्यार्थीहरूको सक्रिय सहभागितामा सम्पन्न भएको थियो। “प्रदर्शनी आयोजित कार्यक्रममा सहभागीहरूले विभिन्न वैज्ञानिक सिद्धान्तमा आधारित सामग्रीहरू निर्माण गरी प्रदर्शन गरेका थिए।
लालझाडी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा शंकरपुरको आयोजनामा सम्पन्न कार्यक्रममा कुल ५४ वटा विज्ञान सामग्री प्रदर्शन गरिएको शाखा प्रमुख सिद्धराज भट्टले जानकारी दिनुभयो। उनका अनुसार, यस्ता कार्यक्रमहरूले विद्यार्थीमा सिर्जनशीलता, अनुसन्धान क्षमता र व्यवहारिक ज्ञान अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्छन्।
कार्यक्रममा विद्यार्थीहरूले स्थानीय स्रोतसाधनको प्रयोग गरी बनाएका विभिन्न मोडेल, प्रयोगात्मक सामग्री तथा नवप्रवर्तनात्मक अवधारणाहरू प्रस्तुत गरेका थिए। सहभागी शिक्षकहरूले यस्ता गतिविधिले कक्षा शिक्षालाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन्।
स्थानीय तहको पहलमा सञ्चालन गरिएको यस कार्यक्रमले ग्रामीण क्षेत्रमा पनि गुणस्तरीय र व्यवहारिक शिक्षा प्रवर्द्धन गर्न सकिने सन्देश दिएको छ। साथै, आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने गाउँपालिकाको योजना रहेको जनाइएको छ।







