बेलौरी – कञ्चनपुरको बेलौरीमा ग्रह गराइदिने भन्दै पैसा लग्ने ४ जना भारतीय नागरिकलाई स्थानीयले नियन्त्रणमा लिएका छन् । शनिवार दिउसो बेलौरी नगरपालिका १० भुडा र बारझालामा ग्रह शान्ति गराइदिने भन्दै ३ जनाबाट साढे १५ हजार उठाएका ४ जना जोगी भेसमा आएकालाई स्थानीयले नियन्त्रणमा लिएका हुन ।

भारतको पलिया नजिक निगासनबाट जोगीको भेषमा आएका ४ जनाले भुडामा २ जना र बाराझाबाट १ जनाबाट ग्रह शान्तिबाट पैसा लगेका थिए । घरमा ग्रह लागेको भन्दै पूजा गर्नुपर्ने भन्दै जोगीले भुडामा बिन्टीराम चौधरीबाट ९ हजार, बाबुराम चौधरीबाट १२ सय र बाराझालाका कालीराम चौधरीबाट ५ हजार ३ सय लगेका थिए ।

‘परिवारमा कति जना छन् सोधे ,मैले ४ जना भने । उनले परिवारमा मसान लागेको र ग्रहले दुख दिएको सुनाए । अनि आफैले समाधानको लागि ग्रह शान्ति गर्न मसान पूजा गर्ने भन्दै रातको ११ बजे मसानघाटमा पूजा गर्नुपर्ने बताए’ बिन्टीराम चौधरीले भने ।

उनका अनुसार चारा जोगी मध्येका १ घरमा बुडाबुडी भएको आएको बेला ग्रह शान्ति गर्नुपर्ने र नगरे घरका अन्य सदस्य अपाङ्ग हुने, अन्य धेरै दुःख आउने भन्दै पैसा लिन मानसिक दबाब दिए ।

‘रातको ११ बजे ४ हजारको कपडा, ३ हजारको फलफूल, ५ सय को नरिवल र ५ सय शृङ्गार लिएर खाल्डोमा मन्त्र जपेर गाड्नुपर्छ’ चौधरीले भने ‘त्यस्तो नगरे परिवारका सदस्यमा दुःख आउने, अपाङ्ग हुने भन्दै मानसिक दबाब दिए । डरले त्यस्तो आफूले गर्न नसक्ने भनेपछि मैले लाग्ने खर्च दिए ।’

त्यस्तै अन्य २ जनाबाट पनि उनीहरूले यसरी नै मानसिक दबाब दिएर पैसा लगेका थिए । एक जनाले पैसा लगेपछि छिमेकमा खबर गरेपछि स्थानीयहरूले भुडामा १ र बेलडाँडी गाउँ पालिका ३ बाट खैरीघाटबाट ३ जनालाई नियन्त्रणमा लिएका थिए ।

नियन्त्रणमा लिएका मध्येका मोनु कुमार र रन्जित राजले आफूले लिएको पैसा सम्बन्धित व्यक्तिलाई बुझाएका छन् । पैसा बुझाएपछि उनी दुई सहित सङ्गै रहेका सम्शेर सिंह, कुन्चीलाल लाई पीडित, प्रहरी, स्थानीय जनप्रतिनिधिको रोहबरमा आफ्नै ठाउँ फर्कने र पछि नेपाल नआउने गरी सम्झाइबुझाई छोडिएको छ ।

स्थानीयको नियन्त्रणमा आएपछि ती भारतीय नागरिक बेलौरी नगरपालिका ९ कुण्डा बस्ने गरेको र यसरीले आफूले माग्ने गरेको बताएका छन् । कुण्डामा ८÷९ परिवार त्रीपाल टाङेर बस्ने गरेका थिए । उनीहरूले बताएअनुसार आफूहरूका पुर्खाले सिलौटो बेच्ने र हामीले चामल गहुँ मागी गुजारा गर्ने गरेका थिए ।