नरेश राना / कृष्णपुर 

कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिकामा महिला हिंसा न्यूनीकरण सम्बन्धी महत्वपूर्ण पहल सुरु गरिएको छ। बिहीबार कृष्णपुर सभा हलमा आयोजित एक कार्यक्रममार्फत “महिलासँग उपमेयर” अभियान प्रारम्भ गरिएको हो। उपमेयर द्रोपती रानाको नेतृत्वमा सुरु भएको यो कार्यक्रम जिल्लामै पहिलोपटक सञ्चालनमा आएको हो।

कार्यक्रमको मुख्य उद्देश्य महिला माथि हुने विभिन्न प्रकारका हिंसा—घरेलु हिंसा, लैङ्गिक विभेद, मानसिक तथा आर्थिक शोषण—लाई न्यूनीकरण गर्नुका साथै पीडित महिलालाई न्याय र सहयोग उपलब्ध गराउनु रहेको आयोजकले बताएका छन्। कार्यक्रममा स्थानीय महिला समूह, सामाजिक अभियन्ता, जनप्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

उपमेयर द्रोपती रानाले कार्यक्रममा बोल्दै महिला हिंसा न्यूनीकरणका लागि समुदायस्तरबाटै सचेतना आवश्यक रहेको बताइन्। उनले भनिन्, “महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था मात्र पर्याप्त हुँदैन, यसका लागि समाजको सोच र व्यवहारमा परिवर्तन आवश्यक छ।” साथै, उनले महिलाहरूलाई आफ्ना अधिकारबारे सचेत हुन र अन्यायविरुद्ध आवाज उठाउन आग्रह गरिन्।

कार्यक्रमअन्तर्गत सचेतनामूलक अन्तरक्रिया, कानुनी परामर्श, तथा हिंसा पीडित महिलाहरूका लागि सहयोगी संयन्त्र निर्माण गर्ने योजना रहेको जनाइएको छ। यस अभियानले स्थानीय तहमा महिला सशक्तीकरण तथा सुरक्षित वातावरण निर्माणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

कञ्चनपुर जिल्लामा पहिलोपटक सञ्चालनमा आएको यस कार्यक्रमले अन्य स्थानीय तहलाई पनि यस्ता पहल गर्न प्रेरणा दिने विश्वास गरिएको छ।