धनगढी । दाइजो कृषि सहकारी संस्था लिमिटेड, धनगढी–७ देवहरियाले ६९औँ सहकारी दिवसको अवसर पारेर सामाजिक उत्तरदायित्वअन्तर्गत शैक्षिक सहयोग कार्यक्रम सम्पन्न गरेको छ।

संस्थाले श्री शिव माध्यमिक विद्यालयमा अध्ययनरत गरिब, जेहेन्दार तथा दलित विद्यार्थीहरूलाई लक्षित गर्दै रु. १०,००० बराबरका शैक्षिक सामग्री हस्तान्तरण गरेको हो। उक्त सामग्री संस्थाका अध्यक्ष कालिराम राना, सचिव दिपकराज जोशी तथा व्यवस्थापक बासुदेव रानाले विद्यालयका प्रधानाध्यापक नन्दलाल रानालाई औपचारिक रूपमा हस्तान्तरण गर्नुभयो।

कार्यक्रममा बोल्दै संस्थाका पदाधिकारीहरूले शिक्षा क्षेत्रको विकास र विपन्न वर्गका विद्यार्थीहरूलाई सहयोग गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताएका थिए। विद्यालय प्रशासनले सहकारी संस्थाको यस सहयोगप्रति आभार व्यक्त गर्दै यसले विद्यार्थीहरूको अध्ययनमा थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको छ।

सहकारी दिवसको अवसरमा गरिएको यस कार्यक्रमले स्थानीय समुदायमा शिक्षा तथा सहकार्यको भावना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।