नरेश राना / लालझाडी
कञ्चनपुर को लालझाडी गाउँपालिका मा स्वास्थ्य कार्यालय कंचनपुरको आयोजनामा लालझाडी गाउँपालिका को समन्वयमा पहिलो दिन श्री भानु माध्यमिक विद्यालय, शंकरपुरमा सिकलसेल एनिमिया तथा थालासेमिया रोगको निदानका लागि निःशुल्क स्क्रिनिङ स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
ग्रामीण क्षेत्रका नागरिकलाई लक्षित गर्दै सञ्चालन गरिएको उक्त शिविरमा उल्लेखनीय सहभागिता देखिएको थियो। शिविरमा कुल ५२० जना सेवाग्राहीले स्वास्थ्य परीक्षण सेवा लिएका थिए, जसमध्ये ३९४ महिला र १२६ पुरुष रहेका छन्। यसले समुदायमा यस्ता आनुवंशिक रोगबारे बढ्दो सचेतना र परीक्षणप्रतिको रुचि झल्काएको स्वास्थ्यकर्मीहरूले बताएका छन्।
स्क्रिनिङका क्रममा २९ महिला र १२ पुरुष गरी कुल ४१ जनामा सिकलसेल एनिमिया तथा थालासेमिया रोगको ‘ट्रेट’ देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ। प्रारम्भिक परीक्षणमा ट्रेट देखिएका ती व्यक्तिहरूलाई थप पुष्टि (कन्फर्मेटरी) परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, धनगढी, कैलाली पठाइएको छ। आज १८ गते श्री शारदा माध्यमिक विद्यालय नौरङ्गा मा हुने भएको छ।यो शिविर २४ गते सम्मा सञ्चालन हुने स्वस्थ कर्मी ले बताउनु भएको छ।
स्वास्थ्य विशेषज्ञहरूका अनुसार सिकलसेल एनिमिया र थालासेमिया दुवै आनुवंशिक (वंशानुगत) रोगहरू हुन्, जसको समयमै पहिचान र व्यवस्थापन अत्यन्त आवश्यक हुन्छ। यस्ता स्क्रिनिङ कार्यक्रमले रोगको प्रारम्भिक अवस्था पहिचान गर्न सहयोग पुर्याउनुका साथै भविष्यमा गम्भीर स्वास्थ्य समस्या रोकथाममा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
स्वास्थ्य कार्यालयले आगामी दिनहरूमा पनि यस्ता जनस्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको जनाएको छ।







