नरेश राना / कञ्चनपुर

कञ्चनपुर — कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिकामा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई लक्षित गरी आयुर्वेद तथा जडीबुटीसम्बन्धी परिचयात्मक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय तथा महाकाली आयुर्वेद औषधालय, महेन्द्रनगरको संयुक्त आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रमको अध्यक्षता सूर्य उपाध्यायले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना उपस्थित रहनुभएको थियो। त्यसैगरी वडा नं. २ का वडा अध्यक्ष आशा राम राना, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख खगेन्द्र चौधरी, जनस्वास्थ्य अधिकृत विकास डगौरा लगायत सरोकारवाला निकायका प्रतिनिधि तथा लालझाडीभरिका महिला स्वास्थ्य स्वयंसेविकाहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा विशेष गरी आयुर्वेदिक उपचार पद्धति, स्थानीय रूपमा उपलब्ध जडीबुटीहरूको उपयोगिता तथा त्यसको सही प्रयोगबारे विस्तृत जानकारी प्रदान गरिएको थियो। प्रशिक्षकहरूले सामान्य रोगहरूको घरेलु उपचार, रोग प्रतिरोधात्मक क्षमता बढाउने उपाय तथा प्राकृतिक उपचार विधिहरूका बारेमा सहभागीहरूलाई व्यवहारिक जानकारी दिएका थिए।

यसैगरी, कार्यक्रममा योग तथा स्वस्थ जीवनशैलीबारे पनि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रशिक्षण दिइएको थियो। योग अभ्यासका विभिन्न आसन, प्राणायाम तथा दैनिक जीवनमा अपनाउन सकिने स्वास्थ्यकर बानीहरूबारे जानकारी गराउँदै नियमित योग अभ्यासले शारीरिक तथा मानसिक स्वास्थ्य सुदृढ बनाउन सहयोग पुग्ने बताइएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि निर्मल रानाले महिला स्वास्थ्य स्वयंसेविकाहरू गाउँस्तरमा स्वास्थ्य सेवाको मेरुदण्ड भएको उल्लेख गर्दै उनीहरूको क्षमता अभिवृद्धिका लागि यस्ता कार्यक्रम अत्यन्तै उपयोगी हुने धारणा व्यक्त गर्नुभयो। साथै, आयुर्वेद र जडीबुटीको प्रयोगमार्फत स्थानीय स्तरमै सुलभ र प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्न सकिनेमा उहाँले जोड दिनुभयो।

आयोजकका अनुसार यस कार्यक्रमले महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई थप ज्ञान तथा सीप प्रदान गर्नुका साथै समुदायमा स्वास्थ्य सचेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।