दिनेश राना/कैलालीः बाजुरामा चुनाव सकिएसँगै अधिकांश गाउँबस्ती सुनसान बन्दै गएका छन् । निर्वाचनका बेला गाउँमा आएकाहरू पुनः कामको खोजीमा धमाधम भारत जान थालेपछि अहिले यहाँका गाउँबस्ती सुनसान बन्दै गएका हुन् ।

खप्तड छेडेदह गाउँपालिकाका रामबहादुर रोकायाले निर्वाचनमा मतदान गर्न आएका युवा अहिले फेरि कामको खोजीमा बाहिरन थालेपछि गाउँबस्ती पनि सुनसान बन्दै गएको बताए ।

उनले भने, “अहिले अधिकांशगाउँबस्ती खाली भइसके ।” कात्तिकमा धान भित्र्याएर मङ्सिरमा गहुँ लगाएपछि बाजुराका गाउँबस्तीका प्रायः तन्नेरी भारततर्फ हिँड्ने गर्छन् ।

हिउँदे खेती लगाएर भारत पसेकाहरू फेरि वैशाख, जेठमा घर फर्की बाली भित्र्याउँछन् । असारमा खेती लगाएर साउन लाग्दानलाग्दै पुनः कामको खोजीमा भारत पस्छन् । रोकाया भन्नुहुन्छ, “बाजुराका नौ वटै पलिकाका अधिकांश युवा अहिले भारतका विभिन्न ठाउँमा भेटिन्छन् ।”