नरेश राना/ लालझाडी
कञ्चनपुर, लालझाडी गाउँपालिका–२ ■ जनउत्थान लघुवित्त वित्तीय संस्था लि.ले लालझाडी गाउँपालिका–२ मा रहेका व्यवसायी तथा ऋणी सदस्यहरूलाई लक्षित गरी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। संस्थाले आफ्ना सदस्यहरूको व्यवसायिक अवस्था, चुनौती, अवसर र वित्तीय पहुँचका विषयमा प्रत्यक्ष कुराकानी गर्ने उद्देश्यले आयोजना गरेको उक्त कार्यक्रममा करिब ३५ जना सहभागीरहेको जनाइएको छ।
कार्यक्रममा लघुवित्तका अधिकृत मधु कुँवर प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो। उहाँले सदस्यहरूको आर्थिक सशक्तिकरण र उद्यमशीलता विकासमा लघुवित्तले खेलिरहेको भूमिकाबारे प्रकाश पार्दै आगामी दिनमा पनि संस्थाले सदस्यमैत्री सेवा प्रवाहलाई अझ प्रभावकारी बनाइने बताउनुभयो।
अन्तरक्रिया कार्यक्रममा सहभागी सदस्यहरूले आफ्नो व्यवसायमा देखिएका समस्या, ऋण वापतको लगानीका प्रभाव, बजार व्यवस्थापन, सीप अभिवृद्धि तथा थप वित्तीय पहुँचका लागि आवश्यक सहयोगबारे सुझाव राखेका थिए। सदस्यहरूले लघुवित्तबाट उपलब्ध गराइने वित्तीय सेवाले ग्रामीण आर्थिक विकासमा महत्वपूर्ण योगदान पुगेको उल्लेख गर्दै अझ थप सुविधा र सीप अभिवृद्धिमूलक कार्यक्रमको आवश्यकता औंल्याएका थिए।
कार्यक्रमको सञ्चालन जनउत्थान लघुवित्त वित्तीय संस्था, लालझाडी–२ कञ्च स्थित शाखाका अधिकृत नरेश बोहरा ले गर्नुभएको थियो। उहाँले संस्थाले सञ्चालन गर्दै आएको नियमित कार्यक्रम, बचत–ऋण योजना तथा उद्यम विस्तारका अवसरहरूबारे सहभागीहरूलाई विस्तृत जानकारी गराउनुभएको थियो।
समुदायमा वित्तीय साक्षरता विस्तार, व्यवसायिक क्षमता वृद्धि तथा सदस्यहरूसँग प्रत्यक्ष संवाद अवस्थामा सुधार ल्याउने उद्देश्यले आयोजना गरिएको यो अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजक संस्थाले जनाएको छ।







