कञ्चनपुरको लालझाडी गाउँपालिकामा ‘समावेशी तथा गुणस्तरीय शिक्षा’ कार्यक्रमअन्तर्गत आइतबार पालिका स्तरीय बाल कचहरी कार्यक्रम गरिएको छ । युरोपियन युनियनको आर्थिक सहयोग, सेभ द चिल्ड्रेन र एनएनएसडब्लुएको संयोजनमा आयोजित कार्यक्रममा लालझाडी गाउँपालिका भित्रका विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी तथा जनप्रतिनिधिको उपस्थिति रहेको थियो । गाउँपालिकाको सभा कक्षमा आयोजित कचहरीमा सहभागी विद्यार्थीहरूले विद्यालयमा देखिने विभेद, सिकाइमा देखिने कमजोरी, आवश्यक भौतिक पूर्वाधारको अभाव, सिकाइ सामग्रीको आवश्यकता तथा समावेशी शिक्षाको महत्वबारे खुला रूपमा धारणा राखे । साथै बजेट विनियोजन, निःशुल्क शिक्षा, विद्यालय दरबन्दी तथा खेलकुद सामग्री जस्ता मुद्दामा उनीहरूले कर्मचारी तथा जनप्रतिनिधिसँग प्रत्यक्ष प्रश्नोत्तर गरेका थिए ।


प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले बालमैत्री कार्यक्रमलाई संस्थागत रूपमा अघि बढाउन प्रशासन निरन्तर प्रतिबद्ध रहने बताउनुभयो । समावेशी तथा गुणस्तरीय शिक्षा परियोजना कार्यक्रमका शिक्षा अधिकृत ऋषिकेश जैरूले विद्यालयबाहिर रहेका जोखिमयुक्त बालबालिकालाई पुनः विद्यालयमा ल्याउने अभियान २०८४ सम्म निरन्तर रहने बताउनु भयो । “कसैले पनि पढाइबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ हाम्रो कार्यक्रम निरन्तर अघि बढिरहेको छ” जैरूले बताउनुभयो । स्थानीय तहमा शिक्षा क्षेत्रका चुनौती, समाधानका उपाय तथा समावेशी शिक्षाको आवश्यकताबारे साझा समझदारी निर्माण गर्न यो बाल कचहरी कार्यक्रम महत्त्वपूर्ण रहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख सिद्धराज भट्टको भनाइ छ । विद्यार्थी, शिक्षक, कर्मचारी र जनप्रतिनिधि बीचको प्रत्यक्ष संवादले शिक्षा सुधारको मार्ग स्पष्ट बनाएको लालझाडी गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर २ का वडाध्यक्ष आशाराम रानाको बुझाइ छ ।