धनगढी: विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले धनगढीमा राँके जुलुस निकालेको छ। शनिवार साँझ साढे ६ बजे राँके जुलुस निकालिएको हो।
पार्टीको केन्द्रीय समितिले विशेष बैठकबाट विभिन्न चरणमा संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ। बैठकले देशभर आन्दोलनलाई सशक्त रूपमा अघि बढाउने निर्णय गर्दै चार चरणमा कार्यक्रम घोषणा गरेको हो। सोही नीति अन्तर्गत शनिवार धनगढीमा राँके जुलुस निकालिएको एक नेताले बताए। धनगढीको जनआवाज चोकबाट बुद्धचोकसम्म जुलुस निकालिएको ती नेताले बताए।
जुलुसमा जेन्जीले उठाएका माग र मुद्दा पूरा गर भन्दै नारा-जुलुस गरिएको थियो।
घोषित कार्यक्रमअनुसार कार्तिक १३ गतेसम्म भित्ते लेखन अभियान सञ्चालन गरिनेछ। यस क्रममा “सर्वपक्षीय अन्तरिम सरकार गठन गर” भन्ने मूल नारासहित “भ्रष्टाचारको निष्पक्ष छानबिन गर”, “उच्चस्तरीय छानबिन आयोग गठन गर”, “भ्रष्टाचारीहरूलाई कारबाही गर्न विशेष न्यायालय गठन गर”, “अग्राधिकारसहितको समाजवाद निर्माण गर”, “दलाल प्रकृतिका गैरसरकारी संस्थाहरू खारेज गर”, “जेन्जीमाथि भएको दमनको निष्पक्ष छानबिन गर” र “युवाहरूको रोजगारीको ग्यारेन्टी गर” जस्ता मागहरू पार्टीले राखेको नेपाल कम्युनिस्ट जनाएको छ।
यस्तै, कात्तिक १५ गते देशव्यापी मसाल जुलुस, कात्तिक १७ गते विरोध प्रदर्शनसहित कोणसभा, र अन्तिम चरणमा कार्तिक २० गते काठमाडौंमा वृहत् जनसभा गर्ने कार्यक्रम तय गरिएको पार्टीले जनाएको छ।
पार्टीका अनुसार, ती सबै कार्यक्रमहरूले वर्तमान राजनीतिक भ्रष्टाचार, बेरोजगारी, र युवामाथिको दमनविरुद्ध जनआवाजलाई सशक्त बनाउने उद्देश्य राखिएको हो।