धनगढीः शनिबार (भोलि) देखि धनगढीमा पुनः महिला उद्यम मेला सुरु हुने भएको छ । धनगढी उपमहानगरपालिकाको व्यवस्थापनमा हरेक शनिबार लाग्ने गरेको महिला उद्यम मेला कात्तिक १५ गते शनिबारदेखि पुनः सुरु हुने नगर प्रमुख गोपाल हमालले जानकारी दिएका छन् ।
मेलामा महिला उद्यमीहरुले उत्पादन गरेका सामग्री र खानपानलाई उपभोग गरेर प्रोत्साहित गर्न उनले सबैमा आग्रह गरेका छन् ।
महिलालाई उद्यमतिर अग्रसर गराउने उद्देश्यका साथ गत वर्षदेखि उपमहानगरले हरेक शनिबार महिला महिला उद्यम मेला सुरु गरेको थियो । तर मौषका कारण खुला स्थानमा लाग्ने उक्त उद्यम मेला गत चैत्र देखि रोकिएको थियो। वर्षा याममा मौसम बदली, हावाहुरी लाग्ने र वर्षात हुने भएकोले बिचमा केही महिना रोकिएको र भोली देखि आउँदो चैत सम्म मेला पुनः सुरु हुन लागेको धनगढी उपमहानगरपालिकाका रोजगार संयोजक चन्द्र महराले बताए ।
धनगढी उपमहानगरपालिकाको व्यवस्थापनमा धनगढी उपमहानगरपालिका–१ स्थित पार्क मोड अगाडि जेनजी मार्गमा शनिबार दिउँसो २ बजेदेखि मेला सुरु हुने नगरप्रमुख हमालले जानकारी दिएका छन् । मेलाका लागि स्टल, टेन्ट, टेबुल, मोबाइल शौचालय लगायतको व्यवस्थापन सहित धनगढी उपमहानगरपालिकाले निःशुल्क रुपमा स्टल उपलब्ध गराउने गर्दछ ।






