धनगढी– धनगढी उपमहानगरपालिका–१०, घुइयाँघाटमा रहेको घुइयाँघाट युवा क्लबले यस वर्ष पहिलो पटक खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । स्थानीय युवामा खेलप्रति रुचि बढाउने र खेल क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको क्लबले जनाएको छ ।

क्लबका अध्यक्ष अनिल रानाका अनुसार प्रतियोगिता २०८२ साल कार्तिक १९ गते देखि २२ गतेसम्म सञ्चालन गरिनेछ । प्रतियोगिताको औपचारिक उद्घाटन कार्यक्रम कार्तिक १९ गते बिहान १० बजे हुने अध्यक्ष रानाले जानकारी दिनुभयो ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिम तथा खेलाडीहरूलाई क्लबले आकर्षक पुरस्कारको व्यवस्था गरेको छ:
प्रथम पुरस्कार: रु. ३१,१०० (मेडल, कप र प्रमाणपत्र सहित)
द्वितीय पुरस्कार: रु. २१,१०० (मेडल, कप र प्रमाणपत्र सहित)
तेस्रो पुरस्कार: रु. ११,१०० (मेडल, कप र प्रमाणपत्र सहित)
खेलमा सहभागी हुन इच्छुक टिमले रु. १५०० शुल्क तिरेर दर्ता गर्नुपर्नेछ । दर्ताको बेला नागरिकता वा सो सरहको परिचयपत्र (Original) अनिवार्य पेश गर्नुपर्ने नियम क्लबले तोकेको छ ।

प्रतियोगिताको सम्पूर्ण खेलहरू FIVEM नियमावली अनुसार सञ्चालन हुनेछन् र सबै खेलाडीहरूलाई तोकिएको समयमा उपस्थित हुन आग्रह गरिएको छ । क्लबले सम्पूर्ण खेलाडीलाई निष्पक्ष खेल भावनाका साथ प्रतियोगितामा सहभागी हुन अनुरोध गरेको छ। यस सम्बन्धमा, खेलमा चयन समितिको निर्णय अन्तिम हुने स्पष्ट पारिएको छ ।
क्लबले यस प्रतियोगिताले स्थानीय खेल प्रतिभाहरूलाई आफ्नो सीप प्रदर्शन गर्ने अवसर प्रदान गर्ने र गाउँघरमा खेलकुदको माहोल सिर्जना गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ ।






