जेनजी आन्दोलनमा घाइते देउवा थप उपचारका लागि सिंगापुर गए

११ कार्तिक २०८२, मंगलवार
जेनजी आन्दोलनमा घाइते देउवा थप उपचारका लागि सिंगापुर गए

काठमाडौँः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थप उपचारको लागि सिंगापुर जाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् ।

भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको कुटपिटबाट घाइते भएका देउवा पत्नी आरजु राणासहित उपचारको लागि गएराति ११ बजेको विमानमा सिंगापुर गएका हुन् । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते देउवा दम्पती बूढानीलकण्ठस्थित आफ्नै निवासमा मरणासन्न हुनेगरी कुटिएका थिए । त्यसपछि करिब एक महिना छाउनीस्थित सैनिक अस्पतालमा उपचार गराएका थिए ।

उपचारका क्रममा देउवाको गर्दनमा १२ टाँका लगाइएको कांग्रेसका तत्कालीन उपसभापति अहिलेका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी कार्यसम्पादन समिति बैठकमा जानकारी गराएका थिए । जेनजी आन्दोलनमा कुटपिट भएपछि असोज २८ गते मात्रै देउवा सार्वजनिक रूपमा देखिएका थिए ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio