देउवा नेतृत्वको यो कार्यसमितिको म्याद थप गर्ने प्रस्ताव ल्याउँदिनँ: गगन थापा

२३ आश्विन २०८२, बिहीबार
देउवा नेतृत्वको यो कार्यसमितिको म्याद थप गर्ने प्रस्ताव ल्याउँदिनँ: गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिको म्याद थप गर्नेसम्बन्धी प्रस्ताव आफूले केन्द्रीय समितिमा पेस नगर्ने बताएका छन् ।

२०७८ मंसिरमा १४ औं महाधिवेशन भएको र देउवा नेतृत्वको कार्यसमितिको नियमित कार्यकाल मंसिरमा सकिने भएको हुँदा अब यो कार्यसमितिको म्याद थप नहुने महामन्त्री थापाले बताएका हुन् ।

‘पार्टी कार्यसमितिको म्याद चार वर्ष भए पनि हामीले सामान्यतया एक वर्ष थप गरी ५ वर्ष बनाउने गरिएको थियो,’ बिहीबार केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै महामन्त्री थापाले भने, ‘यो कार्यसमितिको म्याद थप्ने प्रस्ताव असोज २६ को केन्द्रीय समितिमा म लैजान्न । सभापति देउवाको मात्र होइन, म आफै महामन्त्री गगन थापाको पनि म्याद थप नहुने कुरा हो यो ।’

महामन्त्री थापाले पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा नियमित महाधिवेशन मंसिरभित्रै गर्नुपर्ने प्रस्ताव पनि राखेका छन् । सोहीअनुसार उनले कार्यतालिका पनि पेस गरेका छन् । उक्त कार्यतालिका असोज २६ गतेको केन्द्रीय समिति बैठकमा पेस गर्ने तयारीसमेत महामन्त्री थापाको छ ।

‘यो कार्यसमितिको म्याद अब थपिन्न। त्यसपछि नियमित महाधिवेशन हुन्छ नभए विशेष महाधिवेशन हुन्छ,’ महामन्त्री थापाले भने ।

आजको बैठकमा सभापति देउवा पक्षका केही पदाधिकारीले मंसिरमा नियमित महाधिवेशन गर्न गाह्रो हुने बताएका थिए ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio