नरेश राना / कञ्चनपुर

कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नं. ५ मा सञ्चालन भइरहेको आठौँ ICYC वडा अध्यक्ष कप खुल्ला फुटबल प्रतियोगिताको दोस्रो दिन तीनवटा खेल सम्पन्न भएका छन्। प्रतियोगिताको दोस्रो दिन भएका खेलहरूमा समर्पण युवा क्लब, ICYC ‘B’ र देखतभुली P-27 ले जित हासिल गर्दै आफ्नो खेल कौशल प्रदर्शन गरेका छन्।

दोस्रो दिनको पहिलो खेल समर्पण युवा क्लब र संयुक्त युवा क्लबबीच भएको थियो। प्रतिस्पर्धात्मक रूपमा सम्पन्न उक्त खेलमा समर्पण युवा क्लबले एक गोलको अन्तरले जित हासिल गर्न सफल भयो।

त्यसैगरी, दोस्रो खेल थापा एसपी लालझाडी र ICYC ‘B’ बीच भएको थियो। निर्धारित समयमा दुवै टोलीबीच कडा प्रतिस्पर्धा भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टी सुटआउटमा ICYC ‘B’ ले २ गोलका विरुद्ध ३ गोल गर्दै जित आफ्नो पक्षमा पार्न सफल भयो।

आजको तेस्रो खेल अल स्टार बेलडाँडी र देखतभुली P-27 बीच सम्पन्न भएको थियो। उक्त खेलमा देखतभुली P-27 ले उत्कृष्ट प्रदर्शन गर्दै अल स्टार बेलडाँडीलाई १ गोलका विरुद्ध ३ गोलले पराजित गरेको छ।

प्रतियोगितामा सहभागी टोलीहरूले उत्कृष्ट खेल प्रदर्शन गरिरहेका छन्। दोस्रो दिनका खेलहरूमा पनि खेलाडीहरूले आफ्नो क्षमता, अनुशासन, खेल भावना र प्रतिस्पर्धात्मक कौशल प्रस्तुत गरेका थिए। प्रतियोगिताले स्थानीय तथा छिमेकी क्षेत्रका फुटबल खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने राम्रो अवसर प्रदान गरेको छ।

आयोजकका अनुसार प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टोलीले नगद रु. १ लाख ११ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसैगरी, द्वितीय हुने टोलीले नगद रु. ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

सेयर कर दियो ।